नवनियुक्त चार मन्त्रीले लिए शपथ : मन्त्री बन्ने सूचीबाट संगीता मिश्रको नाम हटाइयो
मिति: २०२५-०९-२२ , समय : १६:०९:५२ , गामघर डेस्क
मिति: २०२५-०९-२२ , समय : १६:०९:५२ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । यसअघि ४ सदस्यीय मन्त्रिपरिषद्मा आज ४ जना थपिएपछि ८ ससदस्यीय हुने भएको छ ।
गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ । समारोहमा राष्ट्रपतिसँगै, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल पनि सहभागी छन्।
यता अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम हटाएकी छिन् ।आइतबार कार्कीले मिश्रलाई स्वास्थ्यमन्त्रीमा सिफारिस गर्दै पाँच जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन् ।
तर मिश्रविरुद्ध प्रश्न उठेपछि आज उनको नाम काटेर पुनः चार जनाको नाम मात्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको हो । स्रोतका अनुसार हिजोको सूची सच्याएर आज पुनः चार मन्त्रीको नाम मात्र पठाइएको छ ।मन्त्री बन्ने निश्चित भएपछि मिश्रले आइतबार नै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । अब अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार र जगदीश खरेलले मात्रै आज दिउँसो २ बजे सपथ ग्रहण गरेका छन ।
प्रकाशित मिति: २०२५-०९-२२ , समय : १६:०९:५२ , 2 days अगाडि