सप्तरीको बोदेबरसाईन महोत्सवको नाममा विकृति/विसंगति फैलाएकाे आरोप

मिति: २०२५-१०-१४ , समय : ०८:३३:४५ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
सप्तरीको बोदेबरसाइन नगरपालिका–५ स्थित बरसाइनमा महोत्सवको नाममा आयोजकले विकृति/विसंगती फैलाएको आरोप लगाइएको छ । नेपाल पत्रकार महासंघ राजविराजमा सोमबार पत्रकार सम्मेलन गर्दै स्थानीय युवाहरूले यस्तो आरोप लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयले महोत्सव बन्द गर्न निर्देशन दिदा पनि मेला सञ्चालन गरिएको भन्दै स्थानीय युवाहरूले कडा आपत्ति जनाएका छन् ।उनीहरूले महोत्सवको नाममा अश्लील गीत, नृत्य र प्रदर्शन भइरहेकोले समाजमा विकृति,विसंगति,अराजक फैलाउने गतिविधिमा तत्काल रोक लगाउन माग गरेका छन ।
उनीहरूले यस्ता गतिविधिले सामाजिक वातावरणलाई बिगार्ने र समाजमा विकृति,विसंगती फैलाउने कार्य भइरहेको आरोप लगाएका छन ।
पत्रकार सम्मेलनमा स्थानीय युवा सुरेन्द्र साहले महोत्सवका नाममा गरिएका अश्लील प्रदर्शनले नगरमा विकृति,विसंगति फैलाएकाले अविलम्व रोक्नुपर्ने माग गरेका छन ।
“व्यापारिक रूपमा कुनै लाभ नभएका यस्ता महोत्सव केही सीमित व्यक्तिहरूको स्वार्थका लागि मात्रै सञ्चालन भइरहेकोले महोत्सव बन्द नगरिए, हामी चरणबद्ध आन्दोलनमा उत्रिने बताउनु भयो । स्थानीय युवा ओम प्रकाश यादवले महोत्सवले स्थानीय कृषि उत्पादन, कला, संस्कृति, धर्म र परम्परालाई झल्काउने भन्दा निरुत्साहित गरेको भन्दै आक्रोश पोख्नु भयो ।
उहाँले मेलामा स्थानीय प्रस्तुति तथा स्थानीय कलाकार र व्यापारीको सहभागिता नगराई बाहिरबाट ल्याएर उत्तेजित पार्ने गरी अश्लील दृश्यले विकृति,विसंगती फैलाउने कार्य गरिएकाले तत्कालै रोक्नु पर्ने बताउनु भयो ।
‘यसअघि असोज १२ देखि २७ गतेसम्मका लागि दुर्गा पूजा मेला सञ्चालनको अनुमति दिइएको थियो’ उनले भने,’तर, अनुमति विपरीत महोत्सवमा अश्लील प्रदर्शन र अशोभनीय गतिविधि भएको भन्दै जिल्ला प्रशासन कार्यालयले असोज २४ गतेदेखि मेला बन्द गर्न निर्देशन जारी गर्यो। त्यसलाई अटेरी गरेर नगरपालिकाबाट पुनः असोज २५ गतेदेखि कार्तिक ८ गतेसम्मको अनुमति लिएर बोदे बरसाइन महोत्सवको नाममा यस्तो गतिबिधि गरेका छन्।’
मेला बन्द गर्ने निर्णयपछि पनि आयोजकहरूले महोत्सवलाई निरन्तरता दिई दुर्गा पूजाको नाम परिवर्तन गरी “श्री बोदेबरसाइन महोत्सव” को नाममा सञ्चालन गरेको युवाहरुले जानकारी दिनु भयो ।
स्थानिय युवा पुष्पेन्द्र साहका अनुसार, जसपाका नेतृ बब्बी सिंह यादवले सयौं जनतालाई प्रलोभन देखाई प्रशासनबाट अनुमति लिन प्रयास गरे पनि अनुमति नपाई असोज २५ गतेदेखि पुनः मेला सञ्चालन गरेको बताउनु भयो ।पत्रकार सम्मेलनमा युवा अगुवा राजकिशोर यादव, राजु यादव, बैधनाथ यादवलगायतका स्थानीय युवाहरुको उपस्थिती थियो।

प्रकाशित मिति: २०२५-१०-१४ , समय : ०८:३३:४५ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित