मधेस प्रदेश : कुटपिटबाट महिलाको मृत्यु, चार जना आरोपित पक्राउ
मिति: २०२५-१०-२९ , समय : ०७:४६:५२ , गामघर डेस्क
मिति: २०२५-१०-२९ , समय : ०७:४६:५२ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
सिरहा । मधेस प्रदेशको सिरहाको लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी गरेको निहुँमा भएको कुटपिटका कारण एक महिलाको ज्यान गएको छ ।प्रहरीका अनुसार मंगलबार बिहान कुटपिटबाट घाइते स्थानीय मो सदिक मियाँकी करिब ५० वर्षीया श्रीमती नुरजहाँ खातुनको मृत्यु भएको हो ।कुटपिटबाट घाइते भएकी उनलाई स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । उनका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मृतक नुरजहाँ खातुनले खुट्टी खोलाको किनारमा छठ पूजाको घाट नजिकै खुद्रा किराना पसल सञ्चालन गर्दै आएकी थिइन् ।
मंगलबार एक युवकले पसलबाट सामान चोरी गरेको भन्दै उनले युवकका हजुरबालाई गुनासो गरेकी थिइन् । त्यसपछि ‘मेरो नातिलाई चोरको आरोप लगाउने’ भन्दै परिवारका सदस्यहरूले निर्घात कुटपिट गरेको स्थानीयले जनाएका छन् । यता घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-१०-२९ , समय : ०७:४६:५२ , 1 month अगाडि