सप्तरीमा हत्या मुद्दाका फरार अभियुक्त साढे तीन वर्षदेखि गाउँपालिका अध्यक्षको कुर्सीमा…

मन्दिरको खेतको धान दिन नमानेपछि भएको थियो पुजारीको हत्या : सप्तरी जिल्लामा पाँच एसपी फेरिए, तर मण्डललाई कसैले पक्राउ गरेनन् ।

मिति: २०२५-१२-०३ , समय : ०८:४४:४८ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज । सप्तरीको राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल हत्या मुद्दामा फरार अभियुक्त रहेको पाइएको छ । ०५५ मा सप्तरीको रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या मुद्दामा फरार सातजनामध्येका उनी पनि एक हुन् । एमालेबाट निर्वाचित मण्डल साढे तीन वर्षदेखि गाउँपालिका अध्यक्ष छन् ।

मण्डल, उनका बुबा गंगाराम (बेल्हीचपेना गाविसका तत्कालीन अध्यक्ष) तथा अन्य आरोपीहरू रामनारायण मण्डल, रामदेव सदा मुसहर, मनिक शर्मा, बच्चा यादव (बौका) र भोलिछन सदा मुसहरविरुद्ध २२ असार ०७५ मा चलेको मुद्दा जिल्ला अदालत सप्तरीले मुल्तबीमा राखेको छ । पक्राउ पुर्जी जारी हुँदा पनि प्रहरीले पक्राउ गर्न चासो दिएको छैन ।

अदालतबाट जारी म्यादमा हाजिर हुन नआएको र प्रहरीले पक्राउसमेत नगरेकाले ‘पक्राउ परेपछि मुद्दाको बाँकी कारबाही गर्ने गरी’ जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले १४ फागुन ०७९ मा मुल्तबीमा राखेको थियो । तर, त्यसको साढे नौ महिनाअघि नै ३० वैशाख ०७९ मा स्थानीय तह निर्वाचनमा उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए ।

मण्डलसहित सातजनाविरुद्ध सप्तरी जिल्ला अदालतबाट १५ वैशाख ०७८ मा पक्राउ पुर्जी जारी भएको देखिन्छ । मण्डल गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेपछि त प्रहरीले अनुसन्धान प्रक्रिया नै रोकेको देखिन्छ । अन्य अभियुक्त पनि गाउँमै छन् ।

गाउँपालिका अध्यक्ष मण्डलले आफूसहित चारजना ०५५ मै २२ दिन थुनामा बसेर हाजिरी जमानीमा छुटिसकेको, तर आरोपितमध्येका केही व्यक्ति हाजिर नभएकाले मुद्दा टुंगिन बाँकी रहेको बताए । ‘म फरार छैन, पक्राउ पुर्जी जारी भएको भन्ने थाहा छैन । दुई–चारजना हाजिर नभएकाले अदालतले मुद्दा मुल्तबीमा राखेको छ, टुंगिएको छैन,’ उनले दाबी गरे, ‘हाजिर हुनुपरे, म हाजिर भइहाल्छु ।’

सप्तरीका एसपी गौतमकुमार केसीले मुद्दाका विषयमा बुझेर मात्र बताउन सकिने बताए । ‘यो मुद्दा के–कसो भएको हो भन्ने अध्ययन गरेर भनौँला,’ उनले भने ।

गाउँपालिकाका अध्यक्ष मण्डलसहित सातजनामाथि पक्राउ पुर्जी जारी भएको चार वर्षमा पाँचजना प्रहरी उपरीक्षक (एसपी) फेरिए पनि कसैले पक्राउ गरेनन् । मण्डलमाथि पक्राउ पुर्जी जारी भएपछि राजेन्द्रप्रसाद धमला, अविनारायण काफ्ले, नरेन्द्रकुमार कार्की, गजुसिद्धि बज्राचार्य, धकेन्द्र खतिवडा फेरिएका छन् । हाल गौतमकुमार केसी सप्तरीका एसपी छन् ।

मधेश प्रदेशका डिआइजी गोविन्द थपलियाले पक्राउ पुर्जी जारी भएको व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने बताए । ‘यो घटनामा के भएको हो म बुझ्दै छु,’ उनले भने ।
अधिवक्ता रवीन्द्र यादवले भने, ‘राजनीतिक दबाबमा प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन । संवेदनशील घटनामा समेत प्रहरीको काम देखिएन । अभियुक्तलाई तत्काल पक्राउ गरेर निष्पक्ष अनुसन्धान गर्नुपर्छ ।’

तत्कालीन बेल्हीचपेना गाविस– ३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको अस्थिपञ्जर ३ साउन ०५५ मा फेला परेको थियो । हाल राजगढ गाउँपालिका अध्यक्ष रहेका ओमप्रकाश मण्डलका बुबा गंगाराम (बेल्हीचपेना गाविसका तत्कालीन अध्यक्ष)ले मन्दिरको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमानेको विवादले हत्या घटना भएको अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । राजविराजमा रहेका गाविस अध्यक्षसँग बैठक गर्ने भन्दै पुजारीलाई बोलाएर कोशी नहरको उत्तरदक्षिण जाने पुलनजिक हत्या गरेर फालेको आरोप छ ।

मन्दिरको बाली लुटपाट गरेको र ज्यान मार्ने धम्की दिएको भन्दै पुजारीले गंगारामविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दिएका थिए । तर, ‘मिलापत्र गराइदिन्छु, गंगाराम मण्डल राजविराजमै छ, गएर भेटघाट गरी प्रहरी चौकी पथलगाडामा बैठकमा जानुपर्छ’ भनेर बचा यादव (बौका)ले पुजारीलाई लिएर गएको देखिएको अभियोगपत्रमा छ । तर, पुजारी बेपत्ता भएकोे १० दिनपछि अस्थिपञ्जर फेला परेको थियो । उक्त अस्थिपञ्जर (हड्डी) को राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा परीक्षण भएको देखिन्छ ।

‘मन्दिरको नाममा रहेका जग्गा र पोखरीसमेतको आम्दानी हिनामिना भएको र बाली लुटपाट सम्बन्धमा मृतकले उठाएको विवादमा रिसइबी राखी मृतकलाई राजविराज हुँदै गंगाराम मण्डललाई भेटी पथलगाडा चौकीमा बैठकमा जानुपर्छ भनी निजलाई कर्तव्य गरी मारी नहरमा लास फालिदिएको तथ्य पुष्टि हुन आएका छन्,’ अभियोगपत्रमा भनिएको छ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२५-१२-०३ , समय : ०८:४४:४८ , 41 minutes अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित