सप्तरीमा‘एक प्रादेशिक निर्वाचन क्षेत्र–एक सडक’कार्यक्रमअन्तर्गत पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

मिति: २०२५-१२-२२ , समय : १९:२६:३३ , देबराम यादव

तस्बिर : देबराम यादव / गामघर टिभि

देबराम यादव

राजविराज ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त(सीके) राउतले सप्तरीको राजविराज नगरपालिका वडा न. १२ र १३ जोड्ने सिगियौन–खाँडो नदी हुलाकी सडकको सोमबार शिलान्यास गर्नु भएको छ ।
‘एक प्रादेशिक निर्वाचन क्षेत्र–एक सडक’ कार्यक्रमअन्तर्गत प्रदेश सरकारको कुल १५ करोड ६८ लाख ३३ हजार ३ सय ४१ रुपैयाँ ४९ पैसा लागतमा उक्त सडक निर्माण गर्न डि एण्ड एस केभी जेभी, काठमाडौंसँग २०८२ असार २० गते सम्झौता गरिएको हो ।
सम्झौता अनुसार २०८४ असार १९ गतेभित्र सडक निर्माण कार्य सम्पन्न हुने पूर्वाधार विकास कार्यालय सप्तरी, राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिनुभयो । झाका अनुसार सडक बस्ती क्षेत्रमा ८ मिटर र खुला क्षेत्रमा १० मिटर चौडाइमा कालोपत्रे गरिनेछ ।
एक प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर सडक निर्माण गर्ने योजनाअन्तर्गत सप्तरी क्षेत्र नं. २ (ख) का लागि उक्त सडक निर्माण सुरु गरिएको हो। सडक निर्माण सम्पन्न भएपछि आवागमनमा सहजता आउने स्थानीयवासीहरू बताउँछन ।
शिलान्यास कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. जयकान्त राउत, मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादव, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविण, पूर्वाधार विकास कार्यालय सप्तरीका प्रमुख कृष्णदेव झा, लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२५-१२-२२ , समय : १९:२६:३३ , 3 hours अगाडि