प्रधानमन्त्री कप प्रदेशस्तरीय पिएम कप छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

मिति: २०२६-०२-०६ , समय : ०७:३०:५२ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको राजविराजमा सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) अन्तर्गतको उद्घाटन खेलमा सिरहाले सशक्त प्रदर्शन गर्दै महोत्तरीलाई ७ विकेटले पराजित गरेको छ ।
बिहीबार सप्तरी क्रिकेट संघको आयोजनामा राजविराजस्थित पविमावि खेलमैदानमा सम्पन्न खेलमा सिरहाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । सिरहाको कडा बलिङ आक्रमणअगाडि महोत्तरीको ब्याटिङ कमजोर सावित भयो ।
पहिले ब्याटिङ गरेको महोत्तरी ३० ओभर ३ बलमै सबै विकेट गुमाउँदै १३४ रनमा सीमित रह्यो। महोत्तरीका लागि रबि कुमार सिंहले सर्वाधिक ४४ रन बनाए भने नवीन कुमार यादवले ३८ रनको योगदान दिए । आदित्य मण्डलले १४ रन र नितेश यादवले ११ रन जोडे । अन्य ब्याटरहरू लामो समय टिक्न नसक्दा टोलीले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेन ।
सिरहाको बलिङतर्फ अफरूद्विन रायन उत्कृष्ट देखिएका छन । उहाँले ३ विकेट लिँदै महोत्तरीको मध्यक्रम धराशायी बनाए थिए । त्यस्तै, रूपेश सिंह र प्रदीप पासवानले समान २–२ विकेट लिए भने नुमर अहमदले १ विकेट हात पारेका छन ।
१३५ रनको लक्ष्य पछ्याएको सिरहाले २६ ओभर ५ बलमा ३ विकेट गुमाउँदै लक्ष्य सहजै पूरा ग¥यो । सिरहाका लागि कृष्णा गुप्ताले ५६ रनको अविजित उत्कृष्ट पारी खेल्दै टोलीलाई जिततर्फ बढाएको थियो । उहाँलाई राकेश कामतीले ३२ रन बनाएर राम्रो साथ दिएका थिए ।
महोत्तरीको बलिङतर्फ आकाश मण्डलले २ विकेट लिए भने राजिव सदाले १ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सिरहाका अफरूद्विन रायन ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन । उहाँलाई अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरीले नगद १ हजार ५ सय रुपैयाँसहित कप प्रदान गरेका थिए ।
सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवका अनुसार प्रतियोगिता अन्तर्गत शुक्रबार धनुषा र महोत्तरीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रदेशस्तरीय छनोट प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रियस्तरमा पहिचान दिलाउने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । साे प्रतियोगिताबाट छनोट हुने खेलाडीहरूले आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

प्रकाशित मिति: २०२६-०२-०६ , समय : ०७:३०:५२ , 2 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित