निर्वाचन विशेष : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको घरदैलो अभियान जारी
मिति: २०२६-०२-१८ , समय : ०७:३१:३८ , गामघर डेस्क
मिति: २०२६-०२-१८ , समय : ०७:३१:३८ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले घरदैलो अभियानलाई मङ्लबार निरन्तरता दिएका छन् ।
शम्भुनाथ नगरपालिकाको विभिन्न वडा तथा टोलहरुमा मतदाताको घरदैलोमा पुगेर मत माग्ने कार्यलाई निरन्तरता दिएका हुन् । पार्टीका केन्द्रीय सचिव एवम् क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साहका अनुसार शम्भुनाथ नगरपालिका अन्तर्गतका नरहैया, सखुवा, नरही, सिरकजरी, खोक्सर, कनकपट्टी, कठौना बजारका मतदाताहरुसँग भेटेर मत मागेका छन् । 
घरदैलोका क्रममा बाटोघाटो नबनेको, विद्यालय तथा अस्पतालमा गुणस्तरीय सेवा नभएको, बिटौरी जग्गाको समस्या, क्षेत्रको प्रमुख सडक कठौना–पातो सडक निर्माण नहुँदा सास्ती झेल्नुपरको, बेरोजगारी, सिंचाइ तथा मलखाद अभाव लगायतका समस्याहरु अधिकांश मतदाताले अध्यक्ष यादवसँग राखेका छन् । यसअघिका जनप्रतिनिधिहरुले विकासीय तथा जनताको हकहितका सवालहरुमा ध्यान नदिएको भन्दै घरदैलोका क्रममा सर्वसाधारणले गुनासो गरेका छन् ।
संविधान संशाधन गरी बाँकी अधिकार प्राप्तिका साथै विकास र समृद्धिका लागि आफु प्रयासरत रहने अध्यक्ष याददवले विश्वास व्यक्त गरेका छन् । जिल्लाकै पछाडि परेका क्षेत्रको रुपमा रहेको सप्तरी ३ मा धेरै काम गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले भन्नु भयो ‘एक सरकारकै नीति विभेदकारी छ, मधेशबाट ७० प्रतिशत राजश्व असुल्ने तथा मधेशलाई ११ प्रतिशत मात्र बजेट विनियोजन गरिन्छ, मधेशका जिल्लाहरु अझै. पछाडि छ, माथि उठाउनका लागि पर्याप्त बजेट आवश्यक छ ।’ 
घरदैलोका क्रममा उम्मेदवार समेत रहेका अध्यक्ष यादवले पूर्व सांसदद्वय दानालाल चौधरी र जगदीश साहसँग भेंटघाट गरेका छन् । भेंटघाटमा समसामयिक राजनीतिक अवस्था, जनताको हक–अधिकार र क्षेत्रको विकास निर्माण लगायतका विषयमा छलफल भएको छ ।
घरदैलो कार्यक्रममा केन्द्रीय नेता एवम् पूर्व मन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य एवम् मधेश प्रदेशसभाका पूर्व सदस्य बिदेश्वर प्रसाद यादव (बिक्की), केन्द्रीय सदस्यद्वय शैलेन्द्रमोहन झा, रमिला साह, समानुपातिक उम्मेदवार चुल्हाइ मण्डल, पार्टीका जिल्ला उपाध्यक्ष हरेराम यादव, निर्मला मण्डल, धनेश्वर यादव, रुपनी गाउँपालिकाकी पूर्व उपाध्यक्ष बेचनी सरदार लगायतका नेताहरु सहभागी छन् ।
स्मरण रहाेस, सप्तरी क्षेत्र नम्बर ३ मा विष्णुपुर, रुपनी, राजगढ गाउँपालिका र शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका गरी कुल एक लाख ११ हजार ८ सय ७१ मतदाता छन् ।
प्रकाशित मिति: २०२६-०२-१८ , समय : ०७:३१:३८ , 22 hours अगाडि