निर्वाचन विशेष : सप्तरीमा निर्वाचन आचारसंहिता खुलेआम उल्लंघन ( तस्बिर सहित )
मिति: २०२६-०२-२२ , समय : ०८:२८:३७ , देबराम / शुभ नारायण यादव
मिति: २०२६-०२-२२ , समय : ०८:२८:३७ , देबराम / शुभ नारायण यादव
तस्बिर : गामघर टिभि
देबराम / शुभ नारायण यादव
सप्तरी ।
आउँदौ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सप्तरी जिल्लामा राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको खुलेआम उल्लंघन गरेको छ ।
सप्तरीको राजविराजसहित हुलाकी सडक क्षेत्रका विभिन्न स्थानमा दल र उम्मेदवारहरूले जथाभावी टुल, ब्यानर तथा अन्य प्रचार सामग्री टाँस्दा आचारसंहिताको खुलेआम धज्जी उडाइएको स्थानिय बताउँछन । 
शुक्रबार जिल्ला आचारसंहिता अनुगमन समितिले हुलाकी सडकअन्तर्गत जोमनी, खुरहुरिया चोक, अर्नाहा, बोदेबरसाइनको शत्रुघन चोक लगायत स्थानमा अनुगमन गरी सार्वजनिक स्थलमा टाँसिएका ब्यानर तथा टुल हटाएको समितिका सदस्य तथा सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवको बताउनु भयो ।
समितिका सदस्य तथा सहायक प्रमुख जिल्ला अधिकारी यादवको नेतृत्वमा खटिएको अनुगमन टोलीले सडक किनार, बिजुलीका पोल, सार्वजनिक संरचना तथा सरकारी सम्पत्तिमा टाँसिएका प्रचार सामग्री हटाएको हो । 
सहायक प्रमुख जिल्ला अधिकारी यादवका अनुसार निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल तथा उम्मेदवारहरूले व्यापक रूपमा प्रचार सामग्री टाँसेको भेटिएको बताउनु भयो ।
उहाँले निर्वाचनलाई स्वच्छ, मर्यादित र निष्पक्ष बनाउन आचारसंहिता लागू गरिए तापनि केही दल र उम्मेदवारले यसको पालना नगरेको देखिएको बताउनु भयो । 
यस्तै, अनुगमन टोलीका सदस्य तथा जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीले आचारसंहिताको उल्लंघन भेटिएपछि सम्बन्धित दलहरूलाई सचेत गराइएको जानकारी दिनु भयो । उहाँले निर्वाचन आचारसंहिता सबैका लागि बाध्यकारी रहेकोले उल्लंघन दोहोरिएमा कारबाहीको लागी कानुनी प्रक्रिया अगाडी बढाइने बताउनु भयो । 
स्थानीय कानुन ब्यवसायी पुन्यप्रसाद यादवले राजनीतिक दलहरूले आफैंले बनाएको नियमको पालना नगरेको भन्दै आलोचना गरेका छन् । उहाँका अनुसार सार्वजनिक स्थलमा जथाभावी ब्यानर र टुल टाँसिँदा वातावरणीय प्रदूषण बढ्नुका साथै शहरको सौन्दर्यमा समेत नकारात्मक असर परेको बताउनु भयो ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा सार्वजनिक स्थल, सरकारी कार्यालय, धार्मिक स्थल, शैक्षिक संस्था तथा निजी सम्पत्तिमा अनुमति बिना प्रचार सामग्री राख्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ । तर व्यवहारमा भने दलहरूले निरन्तर रूपमा नियम उल्लंघन गर्दै आएका छन् । 
निर्वाचनको मिति नजिकिँदै जाँदा आचारसंहिताको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको देखिन्छ । अनुगमन समितिले सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनका लागि सहयोग गर्न अपिल गरेको छ । 
प्रकाशित मिति: २०२६-०२-२२ , समय : ०८:२८:३७ , 2 days अगाडि