निर्वाचन विशेष : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव घरदैलौ अभियानमा सक्रिय
मिति: २०२६-०२-२७ , समय : २१:२१:१३ , गामघर डेस्क
मिति: २०२६-०२-२७ , समय : २१:२१:१३ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको घरदैलौमा सक्रियता बढ्दै गएको छ । आमजनताबाट घरदैलौका लागि व्यापक आग्रह आउन थालेपछि उहाँले विभिन्न स्थानहरुमा निर्धारित सभाका कार्यक्रमहरुलाई छोट्याउँदै घरदैलौलाई प्राथमिकता दिएका हुन् । सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार अध्यक्ष यादवले यसअघि विभिन्न पालिका तथा गाउँहरुमा आयोजित सभाहरुमा आफ्ना विचार सहितको सम्बोधन गर्दै आएकोमा जनताको आग्रहमा गाउँहरु पुगेर घरदैलो कार्यक्रमलाई अगाडि बढाएको पार्टीका केन्द्रीय सचिव एवम् क्षेत्र नम्बर ३ निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साहले जानकारी दिनु भयो ।
उहाँका अनुसार विहानदेखि नै घरदैलोका लागि अध्यक्ष यादव सहितको टोली निस्किने गरेको र राती १०÷११ बजेमात्र आवास स्थल फर्किने गरेका छन् । आफ्नो गाउँमा अध्यक्षलाई एकपटक आउनैपर्छ, हामी वहाँलाई हामी हेर्न लालायित छौं भनी व्यापक आग्रह आउने गरेकोले जानकारी दिँदै पार्टीका सचिव साहले भन्नु भयो ‘अध्यक्षूलाई आफ्नै घरदैलोमा हेर्न र स्वागत गर्न आम जनता ओइरिने गरेका छन्, यसअघिका जनप्रतिनिधि अपेक्षाकृत विकासीय काम नगरेको भन्दै आममतदाताले विकाससँगै अधिकारका लागि लड्न आग्रह गर्ने गरेका छन् ।’ 
शुक्रवार विहान विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित खुरहुरिया पुग्दा जसपा नेपालका अध्यक्ष आउने आसमा हुलाकी सडकमै स्थानीयवासिन्दा बाटो कुरा बसेका थिए । गाउँ पुग्दा कसैले गम्छा, खादा, फूलको माला लगाएर उहाँलाई सर्वसाधारणले स्वागत गरेका छन् । प्रौढ एवम् ज्येष्ठ नागरिकसँग अध्यक्ष यादवले दुबै हात जोड्दै ‘नमस्कार, हम उपेन्द्र यादव, छाता छाप’ भन्दै आशिर्वाद थाप्ने गरेका छन् ।
अध्यक्ष यादवले घरदैलोमा भेटिने युवाहरुसँग हात मिलाउँदै अधिकार र पहिचानका लागि लड्न, सङ्घीयतालाई अधिकारसम्पन्न बनाउनका लागि जसपा नेपालको छाता छापमा मतदान गर्न आह्वान गर्ने गरेका छन् । महिलाहरु प्रत्यक्ष रुपमा उपेन्द्र यादवलाई प्रत्यक्ष हेर्न पाएको खुशी व्यक्त गर्दै ‘हमरा आओरके भोँट छते छापमे देबै, सब ठकबे केलकै, अहाँ निकस’ विकास करबै, बालबच्चाके भविष्यके लेल सोइच देतै’ भनी आग्रह गर्ने गरेका छन् । 
बढ्दो जनलहरसँगै जसपा नेपालका अध्यक्ष यादवले शुक्रवारै विष्णुपुर गाउँपालिकाको १ का जमुनी, बाजितपुर, ४ को बेल्हा, कनकट्टा गाउँमा घरदैलो गरेका छन् । शुक्रबारै अबेर रातीसम्म विष्णुपुर गाउँपालिकाकै २ को सिगियौन र ५ को मझाउमा समेत घरदैलो गर्ने कार्यक्रम रहेको पार्टीका जिल्ला सचिव जयनारायण यादवले जानकारी दिएका छन् । सप्तरी क्षेत्र नम्बर ३ मा रुपनी, विष्णपुर, राजगढ गाउँपालिका तथा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा गरी ४१ वडा समेत गरी कुल एक लाख ११ हजार ८ सय ७१ मतदाता छन् ।
प्रकाशित मिति: २०२६-०२-२७ , समय : २१:२१:१३ , 2 months अगाडि