चैती छठ अन्तर्गत आज मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिईंदै
मिति: २०२६-०३-२४ , समय : १४:०२:३७ , गामघर डेस्क
मिति: २०२६-०३-२४ , समय : १४:०२:३७ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
काठमाण्डौ । मिथिला क्षेत्रमा आज बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर चैती छठ पर्व मनाईंदैछ ।
नेपाल र भारतको मिथिला क्षेत्रमा अस्ति आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरु भएको चार दिने चैती छठ उत्सवको आज मुख्य दिन हो । षष्ठी तिथिको बेलुका विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्छन् । व्रतालुले आ–आफ्ना घरघरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी त्यसबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियालगायत पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्ने गर्छन् ।
यसअघि अस्ति व्रतालुले नहा खा र हिजो खरना मनाएका थिए । पारिवारिक सुख, शान्ति, समृद्धिका लागि चैती छठ पर्व मनाउने गरिन्छ । यस अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्छ ।
भोलि बुधबार चौथो एवं अन्तिम दिन बिहानै पुनःछठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोर्याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिइ चैती छठ पर्व सम्पन्न गर्ने गरिन्छ ।
प्रकाशित मिति: २०२६-०३-२४ , समय : १४:०२:३७ , 2 days अगाडि