सुरक्षा चुनौती बढेकोले अब सप्तरी जिल्ला अदालत भित्र प्रवेश गर्दा परिचयपत्र अनिवार्य

मिति: २०२६-०३-२६ , समय : २१:४१:२५ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सप्तरी ।
सप्तरी जिल्ला अदालत राजविराजमा सेवा लिन आउने सेवाग्राहीलाई अदालत परिसर भित्र प्रवेश गर्दा परिचयपत्र अनिवार्य गरिएको छ । अदालत प्रशासनद्वारा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
केही दिनयता अदालत परिसरमा अनावश्यक व्यक्तिहरूको भीड बढ्दै गएपछि सुरक्षा चुनौती बढेकोले यस्तो व्यवस्था गरिएको जारी सूचनामा उल्लेख छ । चोरीजस्ता घटनासमेत बढ्न थालेपछि अदालत प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको जनाएको छ ।
चैत १२ गते बिहीवारदेखि लागू हुनेगरी नयाँ सुरक्षा व्यवस्थापत्र जारी गरिएको छ। अदालत प्रशासनद्वारा जारी सूचना अनुसार अदालत परिसरमा प्रवेश गर्न सबैले अनिवार्य रूपमा परिचयपत्र वा सम्बन्धित कागजात देखाउनु पर्ने जनाएको छ ।
प्रवेशका लागि तोकिएको स्थानबाट मात्र भित्रिन पाइने व्यवस्था गरिएको सूचना जनाएको छ । यस कदमले अनावश्यक भीड नियन्त्रण गर्ने र अदालतको समग्र सुरक्षा सुदृढ बनाउने अपेक्षा गरिएको जारी सूचनामा उल्लेख छ ।
अदालत प्रशासनले सबै सेवाग्राही र सरोकारवालाहरूलाई नयाँ नियमको कडाइका साथ पालना गर्न आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: २०२६-०३-२६ , समय : २१:४१:२५ , 2 hours अगाडि