बालेन्द्र शाह नेतृत्वको सरकारको परिपत्र अवज्ञा गर्न नेपाल पत्रकार महासंघ सप्तरीको आव्हान
मिति: २०२६-०४-२८ , समय : २०:२४:४० , गामघर डेस्क
मिति: २०२६-०४-२८ , समय : २०:२४:४० , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
नेपाल पत्रकार महासंघ सप्तरीले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने बालेन्द्र शाह नेतृत्वको सरकारले गरेको परिपत्र अवज्ञा गर्न अनुरोध गरेको छ । सरकारको उक्त निर्णय फिर्ताको माग गर्दै नेपाल पत्रकार महासंघको सरकार विरुद्ध देशव्यापी अभियान अन्तर्गत मंगलबार स्थानीय सरकार प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै महासंघले यस्तो आह्वान गरेको हो।
प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकार विरुद्धको देशव्यापी अभियान अन्तर्गत जिल्ला समन्वय समिति मार्फत सप्तरीका १८ वटै नगरपालिका र गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै महासंघले केन्द्र सरकारको निर्णय अवज्ञा गर्न जोडदार माग गरेको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव नेतृत्वमा सप्तरीका पत्रकारहरुले जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहलाई ज्ञापनपत्र बुझाउँदै सप्तरीका १८ वटै स्थानीय तहलाई स्थानीय स्तरबाट प्रकाशित,प्रसारित मिडियाहरुलाई मात्र विज्ञापन दिन आग्रह गरिएको छ ।
नेपाल सरकारले सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न २०८२ चैत १८ गते सबैतिर गरेको परिपत्र मान्य नभएको महासंघले स्थानीय सरकारलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । संघीय सरकारको यस्तो परिपत्रले अहोरात्र खटिने संचारकर्मीहरु पीडामा परेको बताइएको ज्ञापनपत्रमा पत्रकारिता गर्दा विज्ञापन भरमा बाँच्ने पत्रकारहरुलाई आर्थिक नाकाबन्दी गर्ने हिसाबले संघीय सरकारले यस्तो परिपत्र गर्दा सम्पूर्ण पत्रकार जगत स्तब्ध भएको र यसले प्रेस स्वतन्त्रको ठाडो उल्लंघन गरेको ठहर गरिएको छ ।
लोकतन्त्र प्राप्तिदेखि हरेक अधिकार प्राप्तिको आन्दोलनमा सप्तरीका पत्रकारहरु अग्रपंक्तिमा रहेर रिपोर्टिङ गर्दै आएको स्मरण गराइएको ज्ञापनपत्रमा पालिकाको हरेक गतिविधिसहित विकासीय मामिलामा समेत पत्रकारहरु नियमित रिपोर्टिङ गर्दै आएको भन्दै लोकतन्त्रको रक्षाका लागि मिडियालाई सुरक्षित राख्नु पर्नेमा जोड दिइएको छ ।
पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै ज्ञापनपत्रमा लोकतन्त्र कम्जोर हुँदा हामी सबै धरासायी हुन्छौं भन्दै सचेत समेत गराइएको छ । ज्ञापनपत्रमा यहाँहरुको पालिकामा उत्पादन हुने सम्पूर्ण विज्ञापन सप्तरीकै मिडियालाई उपलब्ध गराउन हार्दिक अनुरोध समेत गरिएको छ ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख साहले पत्रकारहरुले राखेको माग जायज भएको बताउँदै पत्रकार महासंघले बुझाएको ज्ञापनपत्र तुरुन्तै पालिका पठाएर उठेको माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
प्रकाशित मिति: २०२६-०४-२८ , समय : २०:२४:४० , 2 hours अगाडि