घरबाटै काम गर्न तथा एक वर्षसम्म सुन नकिन्न भारतीय प्रधानमन्त्री माेदीकाे अपील

मिति: २०२६-०५-११ , समय : १६:२७:५८ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा चलिरहेको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्न नागरिकलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले कोभिड–१९ महामारीको सम्झना दिलाउने मितव्ययिताका उपायहरूले भारतको इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मद्दत गर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

भारतले ९० प्रतिशत तेल आयात गर्छ र इरानमाथि अमेरिका–इजरायलको युद्धपछि तेल आयातमा अर्बाैँ डलरको वृद्धि भएको छ । मध्यपूर्व युद्धका कारण ‘स्ट्रेट अफ हर्मुज’ दुई महिनाभन्दा धेरै समयदेखि अवरुद्ध छ ।

हिजो दक्षिणी शहर हैदराबादमा एक सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको अपीललाई विश्लेषकहरूले अहिलेसम्मकै ‘सबैभन्दा कठोर’ भनेर वर्णन गरेका खबरमा उल्लेख छ ।

मोदीले देशभक्ति भनेको सीमामा आफ्नो जीवन बलिदान दिन तयार हुनु मात्र नभई अहिलेको समयमा जिम्मेवारीपूर्वक बाँच्ने र आफ्नो दैनिक जीवनमा राष्ट्रप्रतिको कर्तव्य पूरा गर्नेबारे रहेको बताउनुभएको थियो । वर्तमान अवस्थामा विदेशी मुद्रा बचतमा ठूलो जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

मेट्रो जस्ता सार्वजनिक गाडीको प्रयोग गर्न आग्रह गर्दै मोदीले इन्धन बचत गर्न मानिसहरूलाई ‘कार पुलिङ’ प्रणाली अपनाउन सुझाव दिनुभएको छ । उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ ।

सरकारी इन्धन खुद्रा बिक्रेताहरूमाथि बढ्दो दबावका बाबजुद भारतले अहिलेसम्म पेट्रोल र डिजेलको मूल्य बढाएको छैन । तर लामो समयदेखिको द्वन्द्व र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव सिर्जना गर्न थालेको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री मोदीले विदेशी मुद्रा बचत गर्नका लागि सुन नकिन्न आग्रह गरेपछि आज गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएको छ । प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा १० प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।

यस्तै भारतीय शेयर बजार ‘बीएसई सेन्सेक्स’ आज शुरुआती कारोबारमा १ हजार अङ्कभन्दा धेरैले घटेको छ । विश्लेषकहरूले लामो समयसम्म आर्थिक अवरोधको डरका बीचमा शेयर बजार उच्च अङ्कले घट्नुको एउटा कारण मोदीको टिप्पणी रहेको बताएका छन् । एजेन्सी

प्रकाशित मिति: २०२६-०५-११ , समय : १६:२७:५८ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित