अधुरा योजना, अलपत्र भवन र करोडौंको वितरणमुखी खर्च : सप्तरीको विष्णुपुर गाउँपालिकाको विकास मोडेल जनताको पैसा कर्मचारीको मनपरी भुक्तानी

मिति: २०२६-०६-०८ , समय : २१:३७:२४ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

बिष्णुपुर ।
सप्तरीकाे विष्णुपुर गाउँपालिकाले विकास निर्माणभन्दा वितरणमुखी कार्यक्रमलाई प्राथमिकता दिएको तथा दर्जनौं योजना अधुरै छाडिएको तथ्य सार्वजनिक भएको छ।
महालेखापरीक्षकको प्रतिवेदनअनुसार गाउँपालिकाले एक आर्थिक वर्षमा ३२५ वटा योजना सञ्चालन गरे पनि ६२ योजनाको प्रगति शून्य रहेको छ भने ३८ वटा योजना अधुरा रहेका छन्।

प्रतिवेदनले ३ करोड १० लाख रुपैयाँ अबण्डा बजेट राखेर विभिन्न योजनामा खर्च गरिएको उल्लेख गरेको छ। उत्पादनमूलक र दीर्घकालीन प्रतिफल दिने योजनाभन्दा साना तथा वितरणमुखी कार्यक्रमलाई प्राथमिकता दिइएको भन्दै लेखापरीक्षणले प्रश्न उठाएको छ।

गाउँपालिकाले १ हजार ५ सयभन्दा बढी ग्यास चुल्हो वितरणमा ५० लाख रुपैयाँभन्दा बढी र २७० वटा सिलाइ मेसिन वितरणमा ४५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ। यस्ता कार्यक्रमबाट दीर्घकालीन आर्थिक उपलब्धि हासिल हुने आधार स्पष्ट नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
निर्माणतर्फ प्रशासनिक भवन निर्माणका लागि ७ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सम्झौता भए पनि करोडौं रुपैयाँ भुक्तानीपछि निर्माण कार्य सुस्त बनेको देखिएको छ। विद्यालय भवन निर्माणमा काम पूरा नभई भुक्तानी भएको, झोलुङ्गे पुल अधुरो रहेको तथा विभिन्न निर्माण आयोजनामा आवश्यक प्राविधिक कागजात र अभिलेख नपाइएको प्रतिवेदनमा उल्लेख छ।

सडक बत्ती जडान, इन्भर्टर खरिद, ICT प्रयोगशाला निर्माण, पूर्वाधार विकास तथा अन्य योजनामा समेत जिन्सी दाखिला, प्राविधिक प्रतिवेदन र कार्यसम्पन्न प्रमाण अभाव देखिएको छ।
त्यस्तै पूजा, महोत्सव, सम्मान, खेलकुद तथा विभिन्न अनुत्पादक कार्यक्रममा १ करोड ६४ लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ। आफ्नै जनशक्तिबाट सञ्चालन गर्न सकिने कार्यक्रम गैरसरकारी संस्थामार्फत गराएर १ करोड १० लाख रुपैयाँभन्दा बढी खर्च गरिएको विषयमा पनि लेखापरीक्षणले प्रश्न उठाएको छ।
प्रतिवेदनले गाउँपालिकालाई विकास योजनाको गुणस्तर, पारदर्शिता र परिणाममुखी खर्च प्रणाली सुधार गर्न सुझाव दिएको छ।

प्रकाशित मिति: २०२६-०६-०८ , समय : २१:३७:२४ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित