साउदी अरबमा अलपत्र परेका सप्तरीको सुरुङ्गाका मृगेन्द्र मण्डलको उद्धार गरिदिन परिवारजनकाे आग्रह
मिति: २०२६-०६-२१ , समय : १५:४६:३९ , सियाराम यादव
मिति: २०२६-०६-२१ , समय : १५:४६:३९ , सियाराम यादव
तस्बिर : सियाराम यादव / गामघर टिभि
सियाराम यादव
लहान । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.४ निवासी मृगेन्द्र कुमार मण्डल साउदी अरबमा अलपत्र परेपछि उनको उद्धार तथा स्वदेश फिर्ताका लागि परिवारले नेपाल सरकार र सम्बन्धित निकायसँग तत्काल पहल गरिदिन आग्रह गरेको छ।
परिवारका अनुसार मण्डल वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए। उनी करिब १५ वर्षअघि भएको सडक दुर्घटनासम्बन्धी मुद्दामा ६ वर्ष कैद सजाय भुक्तान गरी नेपाल फर्किएका थिए। सजाय पूरा गरेपछि करिब ५–६ वर्ष नेपालमै बसेर पुनः वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए।
हाल कम्पनीसँग भएको दुई वर्षे रोजगारी सम्झौता पूरा गरी नेपाल फर्किने क्रममा विमानस्थलमा उनीमाथि ‘ट्राभल ब्यान’ रहेको जानकारी गराइएको थियो। त्यसपछि उनले साउदी अरबस्थित नेपाली दूतावाससँग पटक–पटक सम्पर्क गरे पनि पुरानो दुर्घटनासम्बन्धी मुद्दा देखाउँदै नेपाल फर्कन नमिल्ने जानकारी दिइएको परिवारको भनाइ छ।
मण्डलमाथि ३ लाख ३० हजार साउदी रियाल जरिवाना रहेको भनिए पनि त्यससम्बन्धी कुनै आधिकारिक अदालत वा सरकारी निकायको कागजात उपलब्ध नगराइएको पीडित पक्षले जनाएको छ। साथै, नेपाली दूतावासबाट आवश्यक कानुनी तथा कूटनीतिक सहयोगसमेत प्राप्त हुन नसकेको उनीहरूको गुनासो छ।
ट्राभल ब्यानका कारण मण्डल हाल साउदी अरबको दमाम क्षेत्रमा अलपत्र परेका छन्। रोजगारीको अवधि समाप्त भइसकेकाले खानपान, बसोबास तथा दैनिक जीवनयापनमा गम्भीर समस्या भोग्नुपरेको परिवारले जनाएको छ।
पीडित परिवारले नेपाल सरकार, वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय, साउदी अरबस्थित नेपाली दूतावास तथा सम्बन्धित निकायलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाई मण्डललाई यथाशीघ्र स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरेको छ।
मण्डलले आफूलाई लागेको आरोप, जरिवाना तथा ट्राभल ब्यानसम्बन्धी स्पष्ट जानकारी उपलब्ध गराई न्यायोचित समाधान खोजिदिन सम्बन्धित निकायसँग अनुरोध गरेका छन्। उनका अनुसार आफूले पुरानो मुद्दामा तोकिएको सजाय भुक्तान गरिसकेको अवस्थामा सोही मुद्दाकै आधारमा पुनः स्वदेश फर्कन रोक लगाइनु अन्यायपूर्ण भएको भन्दै आवश्यक सहयोगका लागि सबैसँग अपिल गरेका छन्।
प्रकाशित मिति: २०२६-०६-२१ , समय : १५:४६:३९ , 2 hours अगाडि