रेजिडेन्ट तथा इन्टर्न डाक्टरको उचित भत्ताको मागप्रति राष्ट्रिय समता पार्टीको ऐक्यबद्धता
मिति: २०२६-०८-०५ , समय : ०७:३२:०७ , गामघर डेस्क
मिति: २०२६-०८-०५ , समय : ०७:३२:०७ , गामघर डेस्क
तस्बिर : सुनिता साह क्रान्तिकाे सहयोगमा
गामघर डेस्क
काठमाडौं । रेजिडेन्ट तथा इन्टर्न डाक्टरहरूको उचित निर्वाह भत्ता सुनिश्चित गर्नुपर्ने माग राख्दै आमरण अनशनमा बसेका डाक्टर डिल्ली हरिजनप्रति राष्ट्रिय समता पार्टीले पूर्ण ऐक्यबद्धता जनाएको छ। पार्टीले डाक्टर हरिजनले उठाएका मागहरू न्यायोचित, व्यावहारिक तथा स्वास्थ्य क्षेत्रको समग्र सुधारसँग सम्बन्धित रहेको उल्लेख गर्दै नेपाल सरकार र सम्बन्धित सबै निकायलाई तत्काल गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेको छ।
पार्टीले जारी गरेको धारणा अनुसार स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेका रेजिडेन्ट तथा इन्टर्न डाक्टरहरूले आफ्नो अध्ययन र सेवाका क्रममा न्यूनतम जीवनयापन गर्न सक्ने गरी उचित निर्वाह भत्ता प्राप्त गर्नु उनीहरूको आधारभूत अधिकार भएको जनाएको छ। लामो समयदेखि स्वास्थ्य संस्थाहरूमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका प्रशिक्षार्थी चिकित्सकहरूको श्रम, समय र योगदानको सम्मान गर्दै उनीहरूको मागलाई बेवास्ता गर्नु उपयुक्त नहुने पार्टीको भनाइ छ।
राष्ट्रिय समता पार्टीले सरकारले आन्दोलनलाई केवल विरोधका रूपमा नभई स्वास्थ्य क्षेत्रका संरचनागत समस्या समाधान गर्ने अवसरका रूपमा लिनुपर्ने आवश्यकता औँल्याएको छ। पार्टीले वार्ता, सहमति र आपसी समझदारीमार्फत यथाशीघ्र समाधान खोज्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

यसैबीच, पार्टीले नेपाल चिकित्सक संघलाई पनि यस संवेदनशील विषयमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्न अनुरोध गरेको छ। चिकित्सक संघले सरकार, स्वास्थ्य संस्था र आन्दोलनरत पक्षबीच प्रभावकारी मध्यस्थकर्ता बनेर संवाद, सहकार्य तथा सहमतिमूलक समाधानको वातावरण निर्माण गर्न पहल गर्नुपर्ने पार्टीको धारणा छ।
राष्ट्रिय समता पार्टीले स्वास्थ्य क्षेत्रका समस्याहरू समाधान नगरी गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न नसकिने उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरेको छ। पार्टीले डाक्टर हरिजनको स्वास्थ्य अवस्थाप्रति समेत गम्भीर चासो व्यक्त गर्दै आमरण अनशन अन्त्य हुने गरी छिटो, सम्मानजनक र दिगो समाधान निकाल्न सरकारसँग पुनः जोडदार माग गरेको पार्टी नेतृ सुनिता साह क्रान्तिले बताएकी छन ।
प्रकाशित मिति: २०२६-०८-०५ , समय : ०७:३२:०७ , 2 hours अगाडि