अस्ट्रेलियामा मधेस प्रदेशकी २५ वर्षीया सृष्टि शाहको फड्को : चार वर्षको उमेरमा अस्ट्रेलिया, २५ मा आफ्नै ल फर्म

मिति: २०२६-०८-०८ , समय : १७:१८:५० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । सानै उमेरमा सपना देख्ने र त्यसलाई साकार पार्न कडा मेहेनत गर्ने हो भने सफलता असम्भव छैन भन्ने उदाहरण बनेकी छन्, मधेस प्रदेशको रौतहटकी २५ वर्षीया सृष्टि शाह। उनले अस्ट्रेलियाको व्यावसायिक सहर सिड्नीमा आफ्नै कानुनी परामर्श संस्था ‘ब्राइटेन ल’ (Brighten Law) सञ्चालनमा ल्याएर सफलताको नयाँ आयाम थपेकी छन्।

करिब पाँच महिनाअघि स्थापित यस कम्पनीकी संस्थापक तथा सोलिसिटर (वकिल) सृष्टिले संस्थाका तर्फबाट व्यक्तिगत क्षतिपूर्ति, कामदारको क्षतिपूर्ति, चिकित्सकीय लापरबाही, सम्पत्ति खरिद–बिक्री, कानुनी कागजात लेखन तथा आप्रवासन (इमिग्रेसन) सम्बन्धी विविध कानुनी सेवाहरू प्रदान गर्दै आएकी छन्।

चार वर्षको उमेरमा अस्ट्रेलिया, २५ मा आफ्नै ल फर्म
सृष्टि चार वर्षको सानो उमेरमै परिवारका साथ अस्ट्रेलिया पुगेकी थिइन्। त्यहीँ हुर्किएकी उनले सिड्नीस्थित प्रतिष्ठित म्याक्वारी विश्वविद्यालयबाट कानुनमा स्नातक (Bachelor of Laws) पूरा गरिन्। अध्ययनलगत्तै विभिन्न स्थापित ल फर्महरूमा इन्टर्नसिप र जागिर गर्दै उनले व्यावहारिक अनुभव हासिल गरिन्।

आवश्यक लाइसेन्सिङ कोर्स पूरा गरी औपचारिक रूपमा वकिल (Solicitor) को लाइसेन्स पाएपछि उनले व्यक्तिगत क्षतिपूर्ति, सार्वजनिक दायित्व र व्यावसायिक कानुनी मामलाहरूमा दक्षता हासिल गरिन्। विभिन्न फर्महरूमा काम गर्दा प्राप्त भएको ज्ञान र आत्मविश्वासकै बलमा उनले सानै उमेरमा आफ्नै कम्पनी स्थापना गर्ने हिम्मत गरिन्।

नेपालीसहित विदेशी सेवाग्राहीको विश्वास
आफ्नो दक्षता र मेहेनतका कारण छोटो समयमै ‘ब्राइटेन ल’ ले बजारमा राम्रो पहिचान बनाउन सफल भएको छ। सृष्टिको फर्ममा कानुनी सल्लाह र सहयोगका लागि नेपाली समुदायका मात्र नभई विदेशी सेवाग्राहीहरू पनि ठूलो सङ्ख्यामा आउने गरेका छन्।

कानुनी पेसा चुनौतीपूर्ण भए पनि यसमा निरन्तरता र समर्पण चाहिने सृष्टिको अनुभव छ। “कानुनी क्षेत्रमा सफलता पाउनका लागि गहिरो अनुसन्धान, धैर्यता र सही समय व्यवस्थापन अत्यन्तै महत्त्वपूर्ण हुन्छ,” उनी भन्छिन्।

विदेशको प्रतिस्पर्धात्मक बजारमा एक नेपाली मूलकी युवा युवतीले आफ्नै ल फर्म सञ्चालन गरेर कानुनी क्षेत्रमा पुर्‍याएको यो योगदानले अस्ट्रेलियामा रहेका अन्य नेपाली युवाहरूका लागि पनि ठूलो प्रेरणा दिएको छ। हिमालय दैनिकबाट

प्रकाशित मिति: २०२६-०८-०८ , समय : १७:१८:५० , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित