सप्तरीमा हात्तीको हिँड्ने मार्ग परिवर्तन भएको कारण बस्ती पस्ने समस्या : स्थानीयहरु त्रसित

मिति: २०२६-०९-२५ , समय : २०:४९:२३ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

सप्तरी ।
हात्तीको प्राकृतिक बासस्थान र विचरन मार्गको विनाश तथा क्षयीकरन एवम मानवीय अतिक्रमण बढ्दै जाँदा हात्तीको हिँड्ने मार्ग परिवर्तन भएको कारण बस्ती पस्ने समस्या बढेको बताइएको छ । पर्याप्त चरिचरनको अभावले आहार नपाउँदा हातीसंगै बाँदरसमेत बस्ती पस्ने क्रम बढेको वन्यजन्तु विज्ञहरूले बताएका छन् ।
प्राकृतिक बासस्थान र विचरन मार्गको विनाश तथा क्षयीकरन एवम मानवीय अतिक्रमण बढ्दै जाँदा हात्तीको हिँड्ने मार्ग परिवर्तन भएका एवम आवागमन मार्गमा मानवीय अतिक्रमण बढ्दै जाँदा वन्यजन्तु बस्ती पस्ने समस्या बढेको कोशी टप्पु वन्यजन्तु आरक्ष, कुशाहाकी निमित्त प्रमुख प्रतिभा शिवाकोटीले बताइन् ।
शुक्रबार राजविराजमा डिभिजन वन कार्यालय सप्तरीले आयोजना गरेको ‘वन्यजन्तु अपराध नियन्त्रणमा सञ्चार माध्यमको सहभागिता र जनचेतना’ कार्यक्रममा शिवाकोटीले हात्ती हिँड्ने परम्परागत मार्ग अवरुद्ध हुँदा मानव बस्ती आसपासका क्षेत्रमा प्रवेश गर्ने गरेको बताइन् ।
उहाँले हात्ती प्रतिको ब्यवहार,हात्तीलाई चोट लाग्ने गरी भाला वा आगो लगायतका हातहतियारको प्रयोगले हात्तीलाई झनै रिसाहा र मानिसलाई आक्रामक रूपमा लखेट्नुभन्दा मानव–वन्यजन्तु सहअस्तित्व कायम हुने गरी सुरक्षित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । हात्तीको नियमित आवागमन हुने क्षेत्रमा सुरक्षा निकायबाट निगरानी भइरहेको उहाँले जानकारी दिइन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बस्तीमा प्रवेश गरेको हात्तीलाई हतारमा लखेट्नुभन्दा सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो । हात्ती खेतबारीमा पल्कने,वनमा आहाराको कमी भएमा हात्ती छिटै अधाउन र मिठो आहारा धान,मकै,उखुको साथै धरेलु मदिरा र नुन खान बस्तीमा आउने गर्छन । हात्तीको आवागमन क्षेत्र पहिचान गरी नियमित निगरानी गर्नुपर्ने तथा वन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहबीच तत्काल सूचना आदान–प्रदानको व्यवस्था प्रभावकारी बनाउनुपर्ने गौतमले जानकारी दिनु भयो ।
हात्ती देखिएपछि स्थानीयवासीले नजिक नजाने, नजिस्क्याउने र भीड नगर्ने विषयमा सचेतना बढाउनुपर्ने गौतमले बताउनु भयो ।
कार्यक्रममा डिभिजन वन अधिकृत मनोज ठाकुरले सप्तरीमा करिब २१ हजार १३६ हेक्टर वन क्षेत्र रहेको जानकारी दिनु भयो । उहाँले सप्तरीमा १ सय ३७ वटा सामुदायिक वन क्षेत्र रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा वन तथा वन्यजन्तु संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व, बाली तथा पशुधनमा हुने क्षति, वन्यजन्तुको बासस्थान विनाश तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्थाका विषयमा अन्र्तक्रिया कार्यक्रम गरिएको थियो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय सप्तरीका रेन्जर दिपक टमटा,राष्ट्रिय कोशी संरक्षण कोष, कोशी संरक्षण केन्द्रका वरिष्ठ संरक्षण शिक्षा सहायक संजीव धमला लगायतले कार्यक्रमको उदेश्य बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर कार्यरत राष्ट्रिय तथा स्थानीय मिडियामा आबद्ध पत्रकारहरुको सहभागीता थियो ।

प्रकाशित मिति: २०२६-०९-२५ , समय : २०:४९:२३ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित