सप्तरीको हनुमाननगर कंकालिनीमा डुबानको जोखिम बढ्दै : झण्डै २११ घरधुरी प्रभावित

कोशी बाँधको पूर्वी तटबन्ध आसपासका घरहरू समेत डुबानमा

मिति: २०२६-०९-२७ , समय : १२:३७:०६ , रबि शर्मा

तस्बिर : रबि शर्मा / गामघर टिभि

रबि शर्मा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न क्षेत्रमा डुबानको समस्या देखिएको छ। कोशी बाँधको पूर्वी तटबन्ध आसपासका घरहरू समेत डुबानमा परेका छन्।

हनुमाननगर कंकालिनी नगरपालिकाका सूचना प्रविधि अधिकृत अमित पाठकका अनुसार नगरपालिकाका विभिन्न क्षेत्रमा २११ घरधुरीका करिब १ हजार जना प्रभावित भएका छन्। लगातार वर्षा भइरहेकाले प्रभावित क्षेत्रको अवस्था थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।

डुबान प्रभावित परिवारका लागि नगरपालिकाले हिजो राति खानाको व्यवस्था गरेको थियो। आज बिहानदेखि पुनः मुसलधारे वर्षा भइरहेकाले डुबान प्रभावित क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

यसैबीच, बिहान ११:१५ बजे कोशी ब्यारेजको पानीको बहाव २ लाख २३ हजार ३५० क्युसेक रहेको विवरण प्राप्त भएको छ। बहावको अवस्था स्थिर (Steady) रहे पनि स्थिति खतरा (Danger) तहमा रहेको जनाइएको छ। कोशी ब्यारेजका २७ वटा गेट खोलिएका छन्।

लगातारको वर्षा, नदीको बहाव र डुबानको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ जान तथा नदीको बहाव नजिक नजान अनुरोध गरिएको छ।

प्रकाशित मिति: २०२६-०९-२७ , समय : १२:३७:०६ , 1 hour अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित