मधेस प्रदेश गाँजा तस्करीको हव बन्दै : झण्डै १० किलो ५०० ग्राम गाँजा बरामद
मिति: २०२६-०९-२९ , समय : ०९:०६:११ , गामघर डेस्क
मिति: २०२६-०९-२९ , समय : ०९:०६:११ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
जनकपुरधाम । पछिल्लोपटक मधेस प्रदेशको जिल्लाहरु गाँजा तस्करीको हव बन्दै गएको छ । साेहि क्रममा सशस्त्र प्रहरी बल, नेपालले सर्लाहीको सीमावर्ती क्षेत्रबाट १० किलो ५०० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल बिओपी मधुवनी सर्लाहीबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती तथा निगरानीका क्रममा बलरा नगरपालिका–५, भगवानपुरस्थित सीमावर्ती क्षेत्रमा गाँजा बरामद गरेको हो।
सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधिमाथि निगरानी बढाइरहेका बेला प्रहरी टोलीले उक्त परिमाणको गाँजा फेला पारेको जनाइएको छ। बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रलाई प्रयोग गरी लागूऔषधको ओसारपसार तथा कारोबार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायले पछिल्लो समय सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई तीव्रता दिएको छ। विशेषगरी खुला सीमाको फाइदा उठाउँदै लागूऔषध नेपाल भित्र्याउने तथा एक स्थानबाट अर्को स्थानमा पुर्याउने प्रयास हुन सक्ने भएकाले सुरक्षा निकायले शंकास्पद गतिविधिमाथि निगरानी बढाउँदै आएको छ।
यस घटनामा बरामद भएको गाँजा कसले र कुन प्रयोजनका लागि सीमावर्ती क्षेत्रमा ल्याएको थियो भन्ने विषय भने खुलेको छैन। घटनासँग सम्बन्धित व्यक्तिको खोजी तथा थप अनुसन्धानका लागि बरामद लागूऔषध सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने लागूऔषध ओसारपसार नियन्त्रणका लागि नियमित गस्ती, निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाउने जनाएको छ।
प्रकाशित मिति: २०२६-०९-२९ , समय : ०९:०६:११ , 1 hour अगाडि