सन्तानको दीर्घायु सहित मिथिलान्चलका महिलाले मनाउने निराहार व्रत जितिया पर्व सम्पन्न
मिति: २०२६-१०-०४ , समय : ११:१८:४६ , गामघर डेस्क
मिति: २०२६-१०-०४ , समय : ११:१८:४६ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज । सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ ।
तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्वअन्तर्गत शुक्रबार राति ‘ओगटन’ (दर) खाएर महिलाले व्रत शुरु गरेका थिए । शनिबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहान नुहाइधुवाइ गरी व्रत समापन गरेका हुन् ।

व्रतको दोस्रो दिन महिलाले जितमाहा अर्थात् धर्मवीर पुत्र जितुवाहनको कथावाचन तथा पूजाअर्चना गरी सन्तानको दीर्घायुको कामना गरेका थिए । पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्नग्रहण गरी व्रत समापन गर्ने परम्परा छ ।

विशेषगरी मिथिला तथा तराई–मधेसका जिल्लाका साथै काठमाण्डाैलगायत सहरमा रहेका मैथिल समुदायले जितिया पर्व मनाउने गर्छन् । जितिया कठोर व्रतमध्ये एक मानिन्छ ।

महिलाले सन्तानप्रति मातृभाव र समर्पण प्रकट गर्दै एक दिन–एक रात निराहार उपवास बस्ने परम्परा छ । यो व्रतका प्रभावले सन्तानको दीर्घायु हुने जनविश्वास छ ।
प्रकाशित मिति: २०२६-१०-०४ , समय : ११:१८:४६ , 3 hours अगाडि