अस्पतालकाे भिडियो एक्सरे र सिटिस्क्यान सेवा डेढ महिनादेखि ठप्प, मन्त्रालयले दिएन चासो

चिकित्सकको सरुवा भएपछि भिडियो एक्सरे र सिटिस्क्यान सेवा नै बन्द

मिति: २०२३-०५-१६ , समय : १३:४३:४९ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
रेडियोलोजिस्ट पठाउन सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालले पटक-पटक पत्राचार गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चासो दिएको छैन। रेडियोलोजिस्ट डाक्टर नहुँदा भिडियो एक्सरे र सिटिस्क्यान सेवा पछिल्लो डेढ महिनादेखि ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्।

भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिस्ट) डाक्टर आशिष सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन २१ गते सरुवा गरेपछि भिडियो एक्सरे र सिटिस्क्यान नै पूर्ण रूपमा बन्द भएको अस्पतालका एक कर्मचारीले नयाँ पत्रिकालाई जानकारी दिए।

अस्पताल स्रोतका अनुसार रेडियोलोजिस्ट पठाउन अस्पतालले मन्त्रालयलाई दुई–तीनपटक पत्राचार गरिसकेको छ। तर, मन्त्रालयले भने बेवास्ता गर्दै आएको छ।

अस्पतालमा भिडियो एक्सरे र सिटिस्क्यान मेसिन छ, तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ। भिडियो एक्सरे र सिटिस्क्यान सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिस्ट डाक्टरको दरबन्दी छ। दरबन्दीअनुसार डाक्टर नहुँदा यहाँका नागरिकले अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन्।

अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको स्थनीय हरि मण्डलले बताए। उनले भने, ‘आज सिटिस्क्यान गराउन आएको थिएँ, तर अस्पतालमा सेवा बन्द भएपछि महँगोमा बाहिरै गराउनुपर्‍यो।’ सौरभ यादव / नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२३-०५-१६ , समय : १३:४३:४९ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित