मधेशी आयोगले मधेश दिवस मनाउने

मिति: २०२३-०६-२६ , समय : १५:०९:२१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
मधेसी आयोगले मधेश दिवस मनाउने निर्णय गरेको छ ।

आइतबार आयोगको कार्यालयमा बसेको बैठकमा आयोगले मधेश दिवस कहिले मनाउने सम्बन्धमा विज्ञहरूसँग छलफल गरेको छ ।

अध्यक्ष डा.विजयकुमार दत्तको अध्यक्षतामा बसेको बैठकमा पूर्व मन्त्रीद्वय लालबाबु पण्डित तथा अनिल झा, सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल, पूर्व न्यायाधीश लोकेन्द्र मल्लिक, लोकसेवा आयोगका पूर्व सदस्य ब्रह्मदेव राय, पूर्व सांसद सकलदेव सुतिहार सहितका विज्ञहरू सँग आयोगले मधेश दिवसको मिति निर्क्योल गर्ने सम्बन्धमा छलफल भएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले नेपाल र नेपाली, मधेश र मधेशीलाई गौरवान्वित हुने गरेको मिति निर्णय गर्ने र सो को लागि आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक आधारहरू मध्ये कुन राम्रो हुने उद्देश्यका साथ आगामी दिनहरूमा सरोकारवालाहरुसँग गहन छलफल गरी सो मितिमा मधेस दिवस मनाउन आयोगले आवश्यक निर्णय गर्ने समेत प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

आयोगले सबै सरोकारवालाहरू सँग मधेस दिवस मनाउन उपयुक्त मिति सम्बन्धी राय/सुझाव समेत सो प्रेस विज्ञप्तिमार्फत माग गरेको छ ।

प्रकाशित मिति: २०२३-०६-२६ , समय : १५:०९:२१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित