मधेस प्रदेश : तीनवटा नगरपालिकामा जनप्रतिनिधिले नै लगाए ताला

मिति: २०२४-०१-१२ , समय : १५:२४:३० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशको रौतहटका तीनवटा नगरपालिकामा जनप्रतिनिधिले नै ताला लगाएपछि सेवाग्राही मारमा परेका छन् । गरुडा र कटहरिया नगरपालिकामा उपप्रमुखहरू र फतुवा विजयपुर नगरपालिकामा कांग्रेस जनप्रतिनिधिले ताला लगाएका हुन् । कार्यालयमा ताला लागेपछि नगरपालिकाबाट सर्वसाधारण स्थानीय सरकारले दिने सेवासुविधा पाउनबाट वञ्चित भएका छन् ।

गरुडा नगरपालिकाकी उपप्रमुख पुनम चौधरीसहितका वडाध्यक्ष एक सातादेखि धर्नामा बसेका छन् । उपप्रमुख चौधरीले नगर प्रमुख कण्ठमणि जयसवालले भ्रष्टाचारलाई बढावा दिएको र विकास बजेटमा एकलौटी गरेका कारण बाध्य भएर धर्नामा बस्नुपरेको बताइन् । तर, प्रमुख जयसवालले भने उपप्रमुखले भागबन्डा खोजेर जनताको काम गर्न नदिएको आरोप लगाए ।
फतुवा विजयपुर नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले ताला लगाएर काममा अवरोध सिर्जना गरेको स्थानीयले बताएका छन् । नगर प्रमुख गोपाल राय यादव निलम्बनमा परेपछि उपप्रमुख ओमेया खातुनले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । तर, पार्टीकै उपप्रमुखविरुद्ध कांग्रेसका वडाध्यक्ष विरोधमा उत्रिएका छन् ।

कटहरिया नगरपालिका प्रमुख अजय प्रकाशको कार्यशैलीको विरोध गर्दै उपप्रमुख रितादेवी यादवसहितका जनप्रतिनिधि तीन दिनदेखि धर्नामा छन् ।

रौतहटका स्थानीय तहमा नगर प्रमुख र उपप्रमुखबीच विकासमा भन्दा बजेट भागबन्डामा विवाद हुने गरेको छ । यसअघि वृन्दावन नगरपालिकामा मेयर र उपमेयरबीच कुरा नमिल्दा जनताका काम हुन सकेका छैनन् ।

प्रकाशित मिति: २०२४-०१-१२ , समय : १५:२४:३० , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित