सप्तरीको रुपनी गाउँपालिकाका दुर्गानन्द ठाकुर विरुद्ध अख्तियार केन्द्रीय कार्यालयमा उजुरी दर्ता
मिति: २०२४-०९-०९ , समय : १५:४८:१८ , गामघर डेस्क
मिति: २०२४-०९-०९ , समय : १५:४८:१८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको रुपनी गाउँपालिका अन्तर्गत कन्छु नरप्रताप माध्यमिक विद्यालय नकटी रायपुरका व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल काठमाडौमा उजुरी दर्ता भएको छ । रुपनी गाउँपालिकाबाट विभिन्न शिर्षकमा आफ्नो नीजी खातामा सोझै भुक्तानी लिई अनियमित गरेको भन्दै ठाकुर विरुद्ध अख्तियारको केन्द्रीय कार्यालयमा आइतबार उजुरी दर्ता भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल काठमाडौमा आइतबार C-०१५४९४ नम्बरको ठाकुर विरुद्ध अर्को नयाँ उजुरी दर्ता भएको अख्तियार केन्द्रीय कार्यालयले जनाएको छ ।
यस बारे यसघि समेत अख्तियारमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले रुपनी गाउँपालिकालाई पत्राचार गर्दै यस बारे जवाफ मागेको थियो ।
अध्यक्ष ठाकुरले नीजी खातामा भुक्तानी लिएको बारे अख्तियारले पत्रचार गरेकोले जवाफ पठाईसकीएको रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादवले जानकारी दिए ।
“ठाकुरको निजी खातामा भुक्तानी सम्बन्धि अख्तियारको पत्र गाउँपालिकामा आयो,” उनले भने, माग भए बमोजिमको कागजप्रमाण अख्तियारलाई पठाइसकेको छौँ ।”
रुपनी गाउँपालिका १ का गणेश यादव र किरण कुमार जयसवालले अख्तियारको दुरुपयोग गरी अनियमितता गरेको भनी अध्यक्ष ठाकुरसहित संलग्नहरु विरुद्ध यसअधि २०८०/११/ २२ गते अख्तियामा उजुरी दिएका थिए ।
गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख र शिक्षा संयोजकको मिलोमतोमा अध्यक्ष ठाकुरलाई सोझै उनको बैक खातामा भुक्तानी दिएको भन्दै उक्त मिलोमतोमा भएको अपारदर्शी गैरकानुनी खर्च गर्ने र भुक्तानी दिने पदाधिकारी, कर्मचारी उपर छानबिन गरी गराई कारबाही गरी गराई दिन निवेदनमा माग दावी गरिएको छ ।
रुपनी गाउँपालिका वडा नम्बर १ स्थित उक्त विद्यालयबाट अध्यक्ष ठाकुरले विभिन्न शिर्षकमा सोझै भुक्तानी लिई अनियमितता गरेको महालेखा परिक्षकको प्रतिबेदनमा समेत उल्लेख गरिएको छ ।
अध्यक्ष ठाकुरले विद्यालयका अतिरिक्त क्रियाकलाप, गोष्ठी तथा खेलकुदलगायतका कार्यक्रम संचालन शिर्षकमा ४ लाख ७५ हजार ९ सय ४० रुपैयाँ सोझै आफ्नो बैंक खातामा भुक्तानी लिई अनियमिता गरेको महालेखाको प्रतिबेदन २०८१ मा उल्लेख छ । महालेखा प्रतिबेदन २०७९/०८० अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सोझै उनको बैक खातामा भुक्तानी दिई गरिएको कार्यक्रम अनियमित भएको ठहर गरिएको छ ।
“मावि नकटीरायपुर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दुर्गानन्द ठाकुरलाई भौ. नं. १८-०८०/०३/१८ बाट विद्यालयमा अतिरिक्त क्रियाकलाप तथा खेलकुद संचालनका लागि रु २ लाख ५० हजार र उत्कृष्ट वि.व्य. स. र उत्कृष्ट प्र.अ. तथा शिक्षक सम्बन्धि क्रियाकलापको लागि रु १ लाख गरि रु ३ लाख ५० हजार तथा भौ. नं. १६- ०८० /०३/१९ बाट अतिरिक्त क्रियाकलाप तथा खेलकुद गोष्ठी संचालन सम्बन्धि कार्यको लागि रु १ लाख २५ हजार ९ सय ४० गरी कुल रु ४ लाख ७५ हजार ९ सय ४० भुक्तानी दिएको छ,” महालेखा प्रतिबेदनमा भनिएको छ,” नियम अनुसार विद्यालय व्यवस्थापन समितिलाई कार्यक्रम संचालनको लागि भुक्तानी दिने व्यवस्था छैन ।”
जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई कार्यक्रम संचालन गर्न सोझै भुक्तानी दिन नपाउने कानुनी व्यवस्था विपरीत भएकोले कामको गुणस्तरीयता प्रभावित भएको तथा आर्थिक दुरुपयोग भएको प्रतिबेदनमा दावी गरिएको छ ।
“कुनैपनि कार्यक्रमको लागि वि.व्य. स. तथा जनप्रतिनिधिलाई कार्यक्रम संचालनको लागि भुक्तानी दिई काम गराएमा उक्त काम सम्पादनको गुणस्तर, अनुगमन तथा मुल्यांकन र कार्य सिफारिस पनि आफैबाट भई काम सम्पन्न भएको त्यस्तो कार्यको गुणस्तरीयता प्रभावित हुन सक्ने सम्भावना रहन्छ,” प्रतिबेदनमा भनिएको छ,” तसर्थ विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई सोझै उसको बैंक खातामा भुक्तानी दिई कार्यक्रम गरिएको अनियमित भएको छ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरले आफ्नो बैक खातामा रकम भुक्तानी गरेको स्वीकार गर्दै प्रक्रिया अनुसार रित पुर्वक नभएकोले महालेखाले नियम अनुसार गर्नु भनी सुझाएको बताए । बजेट अनियमितता नगरेको तथा आफुले लिएको रकमले तोकिएको शिर्षक बमोजिम काम गरेको दाबी गर्दै उनले कानुनी प्रक्रिया नपुग्दा भएको कार्यलाई गाउँसभाबाट निर्णय गराई नियमित गरीसकिएको बताए । न्यूज टुडेबाट
प्रकाशित मिति: २०२४-०९-०९ , समय : १५:४८:१८ , 10 months अगाडि