कोशी प्रदेश : सप्तकोशी नदीमा हाम फालेर भारतीय युवती बेपत्ता , खोजी कार्य जारी

मिति: २०२५-०४-२२ , समय : २१:४४:१५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सुनसरी । कोशी प्रदेशको सप्तकोशी नदीमा हाम फालेर बेपत्ता भएकी एक भारतीय युवतीको खोजी कार्य जारी रहेको छ। भारतको बस्मतिया निवासी २४ वर्षीया पूजा कुमारी सप्तकोशी नदीमा हाम फालेपछि उनी बेपत्ता बनेकी हुन्। घटनापछि तैनाथ गरिएको खोजी टोली अहोरात्र उद्धार प्रयासमा जुटिरहेको छ।

सशस्त्र प्रहरी बलका अनुसार बेपत्ता कुमारीको खोजीका लागि तालिमप्राप्त गोताखोरहरूको विशेष टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म भन्टावारीका सशस्त्र प्रहरी नायव उपरीक्षक केदार जङ्ग थापा र सितल श्रेष्ठको नेतृत्वमा खोजी कार्य भइरहेको छ। सशस्त्र प्रहरी बल ४ नम्बर गण, सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, पाँच जना विशेष तालिमप्राप्त गोताखोर सहित ११ जना दक्ष पौडीबाज बिहानैदेखि घटनास्थलमा खटिएका छन्। तीव्र बहाव, गहिरो नदी र अप्ठ्यारो भौगोलिक संरचनाले खोजी कार्य चुनौतीपूर्ण भए पनि सुरक्षाकर्मीहरू उच्च मनोबलका साथ प्रयासरत छन्।

सप्तकोशी नदीजस्तो विशाल र प्रवाहयुक्त नदीमा यस्ता घटनाहरू पटक–पटक हुने गरेकाले स्थानीय प्रशासनले यसप्रकारका जोखिम घटाउन आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।

यसबीच भारतीय पक्षसँग समेत समन्वय गरी बेपत्ता युवतीको पहिचान र उद्धार कार्यलाई प्राथमिकतामा राखिएको प्रहरी स्रोतले जनाएको छ।

यता मानविय सम्वेदना र सुरक्षा संयन्त्रको अग्निपरीक्षा बनिरहेको यस घटनामा पूजा कुमारीको सकुशल उद्धारको कामना गर्दै, खोजी कार्य अझ प्रभावकारी बनाउन स्थानीय र सीमावर्ती निकायबीच सहकार्यको खाँचो देखिएको छ ।

प्रकाशित मिति: २०२५-०४-२२ , समय : २१:४४:१५ , 3 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित