किलोको हिसाबले गांजाको असुली : प्रहरीकै संरक्षणमा अबैध गांजा सुनसरीकाे बराहाक्षेत्र हुदै सप्तरी भएर भारत पुग्ने गरेको खुलासा

मिति: २०२५-०६-०९ , समय : १३:३५:२७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । मकवानपुर र धादिङ भन्दा पनि बढी गांजाको खेती धनकुटा जिल्ला हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । धेरैले मकवानपुर र धादिङ भन्ने बित्तिकै गांजा खेतीको अखडा भन्ने गर्छन् तर ती जिल्लामा भन्दा बढी गांजा खेती धनकुटामा हुने गर्छ । यसरी उत्पादन भएको गांजा माफियाहरूले जंगलको बाटो हुदै सप्तकोशी नदि सम्म ल्याउने र कोशीका चल्ने काठको ढुङ्गा मार्फत रातारात भारत तस्करी गर्ने धन्दा गर्दै आएका छन् ।
गांजा माफियाहरूले यो रूटमा पर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको स्थानीय युनिटहरूलाई मिलाएर गांजाको ठूलो तस्करी सिन्डिकेट नै चलाउंदै आइरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सेटिङ नमिलेको र लेनदेनमा कुरा नमिलेको गांजा मात्रै समाउने गरेको यो क्षेत्रमा सामान्य जानकारी राख्ने जोकोहीलाई पनि थाहा नभएको होइन । गांजाको खेतीमा लगानी गर्ने माफियाहरूले रोप्ने , गोड्ने र काट्ने बेलामा प्रहरीलाई गांजा लगाएको जग्गाको हिसाबले रकम दिने गर्दै आएको कुरा पनि कसैलाई छिपेको छैन । तस्करसंग रकमको लिने मूल्य बढाउन पनि बेला बेलामा नयाँ जाने हाकिमले गांजा फडानी गर्ने भनी हल्ला चलाएर , अलिअलि काटेको देखाएर पनि अघिल्लो हाकिमको भन्दा बढी रकम असुली गर्ने गरेको पनि प्रहरी संगठनमा सबैलाई थाहा नभएको होइन । यसरी संरक्षण गरेर उत्पादन गरिएको गांजा सुनसरी जिल्लाको बराहा क्षेत्र हुदै सप्तरी भएर भारत पुग्ने गरेको छ । यो रूटमा गांजाको ठूलो कारोबार हुने गरेको छ । गांजा माफियाहरूले आफ्नो रूट क्लियर गर्नको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीका प्रमुख र घुमुवालाई प्रभावमा नपारी उपाय नै छैन ।
यो रूटमा गांजाको ठूलो कारोबार गर्नेहरूमा सन्दिप , बिशाल र गिरी थरका एक गरि तीन जनाको समूह रहेको छ । यो समूहले इप्रका महेन्द्रनगरको संरक्षण नपाई गांजा तस्करी गराउने अवस्था नै छैन । यहाँको प्रहरीले गांजाको असुली किलोको हिसाबले लिने गरेको पनि खुलेको छ । अहिले इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुखमा निरीक्षक दिवश कुंवर कार्यरत छन् । उनले सहायक हवल्दार बिबेक तामाङलाई घुमुवाको रूपमा परिचालन गरेका छन् । यिनै घुमुवा तामाङले नै कारोबारीहरूसंग भेट गर्ने र आर्थिक कारोबार गर्ने गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका जुनियर अफिसरहरू नै बताउँछन् । यो बिषयमा कोशी प्रदेश प्रहरी कार्यालयले मात्रै होइन प्रहरी मुख्यालयले समेत गहिरो छानबिन गर्ने हो भने प्रहरीले गांजा तस्करीको लाइन कसरी चलाउंछ र असुल्छ भन्ने कुरा प्रष्ट हुने ती जुनियर अधिकृतहरू बताउँछन् । नव जनप्रहारबाट

प्रकाशित मिति: २०२५-०६-०९ , समय : १३:३५:२७ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित