कतार र इराकका अमेरिकी सैन्य अड्डामा इरानको आक्रमण : कतारमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
कतार जाने उडान रोकियो, यात्रुको बिचल्ली, इजरायल र इरान युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी
मिति: २०२५-०६-२४ , समय : ०७:२५:३४ , गामघर डेस्क
मिति: २०२५-०६-२४ , समय : ०७:२५:३४ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
इरानले गएराति कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको छ । इरानका आणविक केन्द्रमा अमेरिकाले गरेको आक्रमणको बदलामा इरानले कतारमा रहेका अमेरिकी सैन्य अड्डामा जवाफी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
अमेरिकी आक्रमणको विरुद्धमा शक्तिशाली जवाफ दिएको इरानले दाबी गरेको छ । कतारले आक्रमणको निन्दा गरेको छ । तर मिसाइल सफलतापूर्वक निस्क्रिय पारिएको र कुनै पनि मानवीय क्षति नभएको कतारको भनाइ छ । कतारको गृह मन्त्रालयले देशको सुरक्षा सामान्य रहेको बताएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएका बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत दुई देशबीचको युद्धविराम सहमतिले युद्धको अन्त्यतर्फ डोहोर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा स्टाटस लेख्दै दुई देश युद्धविराम गर्न सहमत भएको भन्दै ‘सबैलाई बधाई’ समेत दिनुभएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र इरानबीचको युद्धविराम १२ घन्टासम्म कायम रहने र त्यसपछि युद्ध अन्त्य भएको घोषणा गरिने बताउनुभएको छ ।
यता कतारमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा हिजो हवाई हमला गरेपछि दूतावासले नेपाली नागरिकलाई सतर्क भएर बस्न भनेको हो ।
शान्त भएर बस्न र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न दूतावासको आग्रह छ । अमेरिकी सैन्य अड्डामा इरानले हवाई हमला गरेपछि कतारमा रहेका नेपाली त्रासमा छन् । कतारमा झन्डै साढे तीन लाख नेपाली कार्यरत छन् ।
यस्तै इरानले अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि काठमाण्डौबाट कतार जाने उडान रोकिएको छ । हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको छ ।
इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । कतारको हवाई क्षेत्र बन्द भएसँगै नेपाल एयरलाइन्सको दोहा उडानसमेत प्रभावित भएको छ ।
राति ११ बजे उडान तालिका रहेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । कतार जाने यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् । एजेन्सी
प्रकाशित मिति: २०२५-०६-२४ , समय : ०७:२५:३४ , 12 hours अगाडि