प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशको सुक्खाग्रस्त क्षेत्रकाे हेलिकप्टरबाट अवलोकन : मधेश प्रदेशमा तत्काल पाँच सय ‘डीप बोरिङ’ जडान गर्ने

मिति: २०२५-०७-२५ , समय : १६:२०:५५ , शुभ नारायण यादब

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादब

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्नुभएकाे छ । प्रधानमन्त्रीसँगै भाैतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, श्रम राेजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलगायत पनि हुनुहुन्छ ।

महोत्तरीको मटिहानी नगरपालिका–८ को विग्ही नदी पुलको उद्घाटन, वडा नम्बर ६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन सभालाई सम्बोधन गर्ने जाने क्रममा प्रधानमन्त्री ओलीले हेलिकप्टरमार्फत सुक्खाग्रस्त क्षेत्रकाे अवलाेकन गर्नुभएकाे हाे ।

अवस्था जटिल बनेपछि असार अन्तिम हप्ता प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने अस्ति बुधवार सङ्घीय सरकारले मधेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

पानीकाे अभाव भएपछि मधेशमा धान राेपाइँ अहिलेसम्म ५० प्रतिशत पनि हुन सकेकाे छैन । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल पाँच सय वटा ‘डीप बोरिङ’ जडान गरिने घोषणा गर्नुभएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका–८ विग्ही नदीमाथिको पुल र वडा ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेश प्रदेशमा तत्कालै पाँच सय वटा डीप बोरिङ जडान गरिने बताउनुभयो ।

हेलिकप्टरमार्फत तराई–मधेशको अवलोकन गर्नुभएका प्रधानमन्त्रीले धेरै जमिन सुक्खा देखिएको भन्दै मधेशका आठ वटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार पक्षसँग छलफल तथा समन्वय गरी जतिसक्दो छिटो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्बोधनका क्रममा उहाँले मधेश प्रदेशको पूर्वी भागमा रहेको सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँ कम समस्या रहेको तर बाँकी सात वटै जिल्लामा पानीको समस्या समाधान गर्नका लागि सरकार जुटिसकेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको सन्दर्भमा किसानसहित पानीको अभावका कारण प्रत्यक्ष रूपमा प्रभावितलाई विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०२५-०७-२५ , समय : १६:२०:५५ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित