सिरहामा बिरुवा उत्पादन बिना कमिशनको बलमा ८० हजार बिरुवाको भूक्तानी गरेको खुलासा

मिति: २०२५-०८-०१ , समय : १५:०२:११ , देबराम यादब

तस्बिर : देबराम / गामघर टिभि

देबराम यादब

राजविराज ।
मधेस प्रदेशको सिरहा जिल्लामा डिभिजन वन कार्यालय लहानले नर्सरीमा बिरुवा उत्पादन नगरी भुक्तानी दिएको खुलासा भएको छ । जिल्लाको सव डिभिजन वन कार्यालय गोलबजार चोहर्बाले ३५ हजार बिरुवा उत्पादन गरेर डिभिजन वन कार्यालय लहान, सिरहाबाट कमिशनको बलमा ८० हजार बिरुवाको भूक्तानी लिएको स्थानिय हरी यादव बताउनु हुन्छ । उहाँले डिभिजन वन कार्यालय लहानले सव डिभिजन वन कार्यालय गोलबजार चोहर्बाका प्रमुख सहायक वन अधिकृत आवेद हुसेनलाई आर्थिक वर्ष २०८१/०८२ मा ४० हजार एक वर्षे र ४० हजार दुई वर्षे गरी ८० हजार बिरुवा उत्पादन कार्यक्रम दिएकोमा ३५ हजार विरुवा मात्र उत्पादन गरिएको बताउनु भयो ।
उहाँले सहायक वन अधिकृत हुसेनले चोहर्बास्थित सव डिभिजन वन कार्यालय परिसरमा २५ वटा नर्सरी बेडमा र कार्यालयको उत्तरपट्टी ८ वटा नर्सरी बेडमा बिरुवा उत्पादन गरिएको बताउनु भयो । यस्तै कार्यालय परिसरको नर्सरी बेड एक मिटर चौडाई र करिब २० मिटर लम्बाई र उत्तरपट्टीको नर्सरीमा एक मिटर चौडाई र १० मिटर लम्बाईको बेड रहेको छ । २० मिटर लम्बाई भएको बेडमा एक वर्षे बिरुवा अधिकतम २३ सय र दुई वर्षे बिरुवा १८ सय उत्पादन क्षमता रहेको वन प्राविधिक बताउँछन ।
दुबै नर्सरीमा गरी अधिकतम ६५ हजार बिरुवा उत्पादन क्षमता रहेको तर त्यसमा पनि अधिकतम ५५ प्रतिशत मात्रै बिरुवा रहेको थियो । सहायक वन अधिकृत हुसेनले दुबै नर्सरीमा अधिकतम ३५ हजार बिरुवा उत्पादन गरेको वन प्राविधिक बताउछन । नर्सरीको बेडमा एक फिटको बिरुवा हुनुपर्नेमा फिल्ड रिपोर्टिङ गर्ने दिनसम्ममा अधिकतम ३ इञ्चसम्मको बिरुवा रहेको स्थानिय बताउछन ।
हुसनेले खैयर, इपिल, अमला, समी, सिसौँ, सतिसाल, सिरिस, टिक, खमारी, छतमन, गोल्डमोहर, अम्बा, बकाइन, अनार, कटहर, मसला, तेजपात, अर्जुन प्रजातिका बिरुवा उत्पादन गरेका हुन् । उहाँले नर्सरीमा बिरुवाको प्रुनिङ्ग र ग्रडिङ समेत नगरी त्यस वापतको रकम अनियमितता गरेको हो । सहायक वन अधिकृत हुसेनले नसरीको बेडमा बाहिर जिल्लाबाट १÷२ रुपैयाँ दरमा बिरुवा खरिद गरेर ल्याई राखेको र त्यो पनि अधिकांश सुकिसकेको स्थनिय रामविनय महतो बताउनु भयो ।
उहाँले एक वर्षे बिरुवा उत्पादनका लागि प्रति बिरुवा १० रुपैयाँ र दुई वर्षे बिरुवा उत्पादनका लागि प्रति बिरुवा २० रुपैयाँ बजेट रहेको छ । यो हिसाबले ४० हजार एक वर्षे बिरुवा उत्पादनका लागि ४ लाख र ४० हजार दुई वर्षे बिरुवा उत्पादनका लागि ८ लाख बजेट सहायक वन अधिकृत हुसेनलाई डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्रकुमार मिश्रले कमिशनको बलमा भुक्तानी दिएको दावी गर्नु भयो ।
वन प्राविधिकका अनुसार हुसेनले अधिकतम ५ लाख मूल्य बराबरको बिरुवा उत्पादन गरेर १२ लाख भूक्तानी लिएका छन् । वन प्राविधिकको भनाइ अनुसार सहायक वन अधिकृत हुसेनले बिरुवा नै उत्पादन नगरी ७ लाख रुपैया सित्तैमा भुक्तानी लिएका हुन् ।
सहायक वन अधिकृत हुसेनले उत्पादन गरेको बिरुवाको डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र कुमार मिश्रले अनुगमन गरेर जाँच पास गरेपछि मात्रै बजेट निकासा हुनुपर्ने व्यवस्था छ । तर प्रमुख मिश्रले अनुगमन नै नगरी जाँच पास गरेर भुक्तानी दिएको स्थानिय महतो बताउनु भयो ।
बिरुवा उत्पादन कार्यक्रम सञ्चालनका लागि डिभिजन वन कार्यालयका प्रमुखले मातहतका सहायक वन अधिकृतलगायतलाई बजेट बाँडफाँड गरी बिरुवाको संख्या तोकेर जिम्मेबारी दिने चलन छ । प्रमुखले बिरुवा उत्पादन कार्यक्रम आफू निकट अर्थात् बढी कमिशन उठाएर दिने सहायक वन अधिकृत तथा रेन्जरलाई पहिलो प्राथमिकतामा राखेर दिने चलन नै रहेको वन प्राविधिकले बताएका छन् ।
बिरुवा उत्पादन कार्यक्रम सञ्चालन गर्ने सहायक वन अधिकृतले प्राप्त गरेको कूल बजेटको २० प्रतिशत डिभिजन वन कार्यालय प्रमुखलाई र ७ प्रतिशत लेखा अधिकृतलाई कमिशन दिनैपर्ने चलन रहेको वन प्राविधिकहरुको भनाइ छ ।
डिभिजन वन कार्यालयका प्रमुखले प्राप्त गरेको कमिशन रकमबाट ६० प्रतिशत आफू राखेर ४० प्रतिशत रकम वन निर्देशनालय, वन तथा वातावरण मन्त्रालय, स्थानीय प्रभावशाली राजनीतिक नेतृत्व, पत्रकारहरुलाई बाँड्ने चलन रहेको वन प्राविधिकले बताएका छन् । लेखाअधिकृतले प्राप्त गरेको कमिशन आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षण गराएर बाँकी रहेको रकम आफू राख्ने गरेको छ ।
डिभिजन वन कार्यालयका प्रमुखले आर्थिक वर्षको अन्त्यमा बिरुवा उत्पादन भएको नर्सरीको अनुगमन गरेर जाँच पास गरेपछि मात्रै बजेट निकास दिने व्यवस्था छ । प्रमुखले अनुगमन गर्ने क्रममा तोकिएको संख्या बमोजिम बिरुवा उत्पादन नभएको पाइएको खण्डमा थप कमिशन रकम लिएर मात्रै जाँच पास गर्ने गरेको डिभिजन वन कार्यालयका वन प्राविधिकको भनाइ छ ।
सहायक वन अधिकृत हुसेन डिभिजन वन कार्यालय प्रमुख मिश्रका प्रिय पात्र भएकोले नै पानीको अभाव रहेको चोहर्बामा बिरुवा उत्पादन कार्यक्रम प्राप्त गरेको वन कर्मचारीहरु नै बताउँछन् । हुसेनले गोलबजार, चोहर्बा क्षेत्रमा भइरहेको ढुंगागिट्टी, बालुवाको र वन क्षेत्रमा भइरहेको चोरी, तस्करीको मोटो कमिशन उठाएर प्रमुख मिश्रलाई बुझाउँदै आएकोले बिरुवा उत्पादन कार्यक्रम दिएको वन कर्मचारीहरु बताउँछन् ।
हुसेनले प्रमुख मिश्रको आशिर्वादले नै बिरुवा उत्पादनै नगरी ७ लाख रुपैयाँ भुक्तानी लिन सफल भएको र त्यसबाट जाँच पास गरिदिए वापत २० प्रतिशत बाहेक उनलाई एक लाख रुपैयाँ थप कमिशन बुझाएको कार्यालय स्रोतले जनाएको छ ।
डिभिजन वन कार्यालयहरुले वर्षेनी विरुवा उत्पादन गर्दै आएको छ तर त्यसको सदुपयोगिता हालसम्म देखिन सकेको छैन । वन कार्यालयले उत्पादन गर्दै आएको बिरुवाहरु अधिकांश परम्परागत भएकोले जिल्लावासीले वृक्षारोपणमा खासै चासो नदिएको परिणाम ‘बिरुवा उत्पादनमा लगानी, बालुवामा पानी’ जस्तै भएको छ । बिरुवा उत्पादनका लागि विनियोजित बजेट कर्मचारीलाई खानका लागि विनियोजन हुँदै आएको जस्तो भएको छ ।
सहायक वन अधिकृत हुसेनले आफूले बिरुवा उत्पादन गरेको नर्सरीमा देखिएकोले यसको बारेमा थप कुरा डिभिजन वन कार्यालयसँग नै गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: २०२५-०८-०१ , समय : १५:०२:११ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित