सप्तरीको श्याम बाबा राइस मिल प्रा.लि.का मेनेजर उपेन्द्र भगत रौतहटको गौरमा मृत फेला

मिति: २०२५-०८-२१ , समय : ०७:२५:२० , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज । सप्तरीको खडक नगरपालिका वडा न. ७ घर भएका उपेन्द्र भगत रौतहटको गौरमा मृत फेला परेका छन् । मधेस प्रदेशको गौर नगरपालिका– ५ स्थित नेपाल लजको कोठा नम्बर २०२ मा सोमबार ५८ वर्षीय भगत मृत फेला परेका हुन् ।

सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा न. ८ स्थित श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का मेनेजर पदमा कार्यरत भगत चिया खाएर आउँछु भनि कम्पनीबाट गत असार २५ मा निस्किनुभएको थियो ।

त्यसपछि परिवारजनले गत असार २६ मा भगतको हुलिया विवरणसहित प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए । पाँच हप्तादेखि बेपत्ता रहँदै आएका भगत गत साउन २९ गते नेपाल लजमा आउनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले उपेन्द्र गौरमा मृत अवस्थामा फेला परेको पुष्टि गर्नुभयो ।

उहाँले सम्पर्कविहीन अवस्थामा रहेका भगतको सबै प्रहरी कार्यालयमा हुलिया विवरण सर्कुलर गराई खोजी कार्य जारी राखिएको अवस्थामा रौतहट प्रहरीबाट मृत फेला परेको जानकारी आएको बताउनुभयो ।

भगतको शवमा बाहिरी चोटपटक केही नदेखिएकाले मृत्यु शङ्कास्पद रहेको भगतका भतिजा किरणकुमार भगतले जानकारी दिनुभयो ।

यता घटनाबारे निष्पक्ष अनुसन्धान गर्न माग गर्नुहुँदै मृतकको शवलाई पोष्टमार्टमका धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

प्रकाशित मिति: २०२५-०८-२१ , समय : ०७:२५:२० , 7 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित