मधेस प्रदेश : वीरगञ्जमा हैजाका बिरामी भेटिए, सतर्कता अपनाउन अनुरोध

मिति: २०२५-०८-२३ , समय : ०८:०९:४० , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको पर्साकाे वीरगञ्ज महानगर–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालयसहितको टोली हैजा देखिएको ठाउँमा खटिएको छ ।

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले हैजाका बिरामी भेटिएको र प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरै झाडापखालासहित अस्पताल भर्ना भएका थिए । एकैपटक धेरैको सङ्ख्यामा बिरामी आएपछि वीरगञ्ज महानगरमा खबर गरिएको थियो ।

नारायणी अस्पताल वीरगञ्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वयमा गरिएको परीक्षणका क्रममा तीन जना बिरामीमा हैजाको जीवाणु भिब्रियो कोलेरा पाइएको छ । वीरगञ्ज महानगरको स्वास्थ्य शाखा प्रमुख राजु शाहले तीन जना बिरामीमा हैजाको सङ्क्रमण देखिएको र तीमध्ये एक जना किशोरको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन् । मुर्ली टोलमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाण्डौको टेकु प्रयोगशालामा पठाइएको छ । महानगरका अनुसार हैजा थप फैलन नदिन टोलबासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले १० वर्षपछि वीरगञ्जमा हैजा देखिएको बताउनुभयो । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले पिउनेपानी उमालेर वा निर्मलीकरण गरेर पिउन, सरसफाइमा ध्यान दिन अनुरोध गर्नुभएको छ । उज्यालो

प्रकाशित मिति: २०२५-०८-२३ , समय : ०८:०९:४० , 9 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित