मिथिलान्चलमा चौरचन तथा हरितालिका तीज पर्व मनाउँदै

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला, बहुमूल्य गहना लगाएर नआउन आग्रह

मिति: २०२५-०८-२६ , समय : ०९:२७:५४ , शुभ नारायण यादव

तस्बिर : सामाजिक सन्जाल / गामघर टिभि

शुभ नारायण यादव

काठमाडौं । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर्वका रूपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ । कुनै ठाउँमा यो पर्वलाई चौठचन्द्र पर्व भनेर भनिन्छ ।

संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्य जमघट हुने र एकैसाथ खाना खाने चलन भएकाले आपसी सम्बन्ध बलियो बनाउने माध्यम भएको बताउनुहुन्छ । मिथिला महिला आज दिनभर निराहार बसी राति चन्द्रमाको पूजा गरेपछि अन्न र जल ग्रहण गर्छन् ।

पर्वमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन रहेको जलेश्वर नगरपालिका–८ का व्रतालु राजवती देवीले बताउनुभयो ।

महिलाले पूजा सकाएपछि घरका सबै सदस्यले पालैपालो आँगनमा राखिएको विभिन्न फलफूल लिएर चन्द्रमाको दर्शन गर्छन् । चौरचनपर्व सम्पन्न भएपछि परिवारका सदस्य आँगनमै बसेर खीर, पुरी, दही, मिठाइ खाने चलन छ । यस्तै आज हरितालिका तीज पर्व मनाइँदैछ । नेपाली महिलाहरूले धुमधामका साथ तीज मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तीजको अवसरमा देशभरका शिवमन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ । तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ । स्वास्थ्य मानिस र शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान उनीहरूको सुझाव छ ।

निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोशसमेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने सकिने धर्मशास्त्रमा पनि उल्लेख छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ । सरकारले आज महिलाका लागि सार्वजनिक बिदा दिएकाे छ ।
यता हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि खोलिएको छ ।पशुपति क्षेत्र विकास कोषका अनुसार तिजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी आउने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको हो ।
पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चारवटा लाइनको व्यवस्था गरिएको छ । पहिलो लाइन गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
दोस्रो, मित्रपार्क–जयबागेश्वरी–पाँचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
तेस्रो लाइन पिंगलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
चौथो, तिलगंगा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिइ फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठवटा लाइनको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले जानकारी दिए ।
दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्नेगरी बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको उनले सुनाए । पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।
पशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्रांगणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगंगा वनकाली, गौशाला, जयवागेश्वरीमासमेत वितरणको व्यवस्था मिलाइएको छ ।
पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा ९मन्दिर प्रांगणबाहेक० अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी अनिता भट्टले बताइन् ।
भक्तजनबाट गौदान, पूर्णपात्रोजस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको छ ।
बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले अनुरोध गरेको छ । भगवान् श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरु बिहान साढे ५ बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: २०२५-०८-२६ , समय : ०९:२७:५४ , 8 hours अगाडि