उखु किसानलाई अनुदानको झण्डै ७५ कराेड रकम निकासा : किसानले काठमाण्डौ केन्द्रित आन्दोलन नरोक्ने

मिति: २०२५-०८-२७ , समय : ०९:२४:५५ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाण्डौ । सरकारले उखु किसानलाई अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार दुई सय ४० रुपैयाँ निकासा गरेको हो । निकासा गरिएको रकम सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैङ्क खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

भोलिसम्म किसानको खातामा रकम पुग्नेछ । मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । उखु किसानले काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

यसअघि उखु किसानले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पाउँदै आएका थिए । आफूले उत्पादन गरेको उखु बिक्रीबापत पाउनुपर्ने अनुदान रकम सरकारले घटाएर ५० प्रतिशत मात्र दिएको भन्दै उखु किसानले काठमाण्डौ केन्द्रित आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् ।

यसैबीच आन्दोलनरत किसानसँग वार्ता गर्न सरकारले कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह संयोजकत्वमा चार सदस्यीय वार्ता समिति बनाएको छ । समिति, उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच हिजो सामान्य छलफल समेत भयो ।

वार्तामा उपमहानिर्देशक सिंह, कृषि मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी हुनुभएको थियो । उखु किसानका तर्फवाट श्यामबाबु रायलगायत सहभागी हुनुभएको थियो । उज्यालो

प्रकाशित मिति: २०२५-०८-२७ , समय : ०९:२४:५५ , 7 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित