सरकारी जग्गा कब्जा प्रकरण अपडेट : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० वडा कार्यालयको आपत्ति…

मिति: २०२५-०८-२८ , समय : २२:५८:११ , रबि शर्मा

तस्बिर : रबि शर्मा / गामघर टिभी

रबि शर्मा

हनुमाननगर ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१० वडा कार्यालयले सरकारी जग्गा व्यक्तिको नाममा जग्गाधनी प्रमाणपत्र दिने प्रयासप्रति कडा आपत्ति जनाएको छ।

वडा अध्यक्ष रामलखन मण्डलको हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालय सप्तरीमा पठाइएको पत्रमा हालै विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक भएको सरकारी जग्गा कब्जा प्रकरणमा पुनः व्यक्तिको नाममा जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

पत्रमा उल्लेख गरिएको छ–

“जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा व्यक्तिको नाममा प्रमाणित हुने प्रक्रिया अघि बढाइएकोमा यसले सरकारी तथा सार्वजनिक सम्पत्ति निजीकरण हुने अवस्था सिर्जना गरेको छ। सरकारी, सामुदायिक तथा सार्वजनिक जमिनलाई व्यक्तिगत नाममा कायम गरिने कुनै पनि प्रयास अस्वीकार्य हुन्छ।”

वडा कार्यालयले विशेषगरी नगरपालिका वडा न.१० को टोलस्थित सरकारी जमिनलाई व्यक्तिगत स्वामित्वमा दिने प्रक्रिया तत्काल रोक्नुपर्ने स्पष्ट माग गर्दै सम्बन्धित निकायलाई आवश्यक कानुनी कारबाही गर्न आग्रह गरेको छ।

पत्रमा यसअघि नै सो जग्गा सरकारी हो भन्ने निर्णय भइसकेको र त्यसको आधारमा स्थानीय तहमा समेत विरोध भएको तथ्य स्मरण गराइएको छ।

यसअघि पनि विभिन्न स्थानीय नेताहरू र केही व्यक्तिहरूको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने प्रयास हुँदै आएको आरोप सार्वजनिक भइरहेकामा, यस प्रकरणलाई गम्भीररूपमा लिएर सार्वजनिक सम्पत्ति बचाउन सम्पूर्ण तह र निकाय सक्रिय हुनुपर्ने जोड दिइएको छ।

प्रकाशित मिति: २०२५-०८-२८ , समय : २२:५८:११ , 3 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित