फुट्यो जनमत पार्टी : ‘जनस्वराज’ पार्टी घोषणा, सीके राउतको नेतृत्वमा प्रश्न …?
मिति: २०२५-०९-२० , समय : २३:३७:१९ , गामघर डेस्क
मिति: २०२५-०९-२० , समय : २३:३७:१९ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन भएको छ। अध्यक्ष राउतले आन्तरिक असन्तुष्ट नेताहरूलाई कारबाही गरेर निष्कासन गरेपछि उनीहरूले शनिबार जनकपुरमा भेला भई नयाँ पार्टी ‘जनस्वराज’ घोषणा गरेका छन्।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा डा. सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकले नयाँ पार्टी गठन गरेको हो। ‘जनस्वराज’ पार्टीले अध्यक्ष वा एकल नेतृत्वको संरचना अस्वीकार गर्दै सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने घोषणा गरेको छ।
ई. दीपक साहले भने, ‘अब पार्टी कुनै व्यक्तिको नियन्त्रणमा होइन, विभागीय जिम्मेवारीमार्फत सञ्चालन हुन्छ।’ पार्टी गठनसँगै तीन विभाग बनाइएका छन्। राजनीतिक संगठन विभागको जिम्मा ई. दीपक साहलाई दिइएको छ भने आर्थिक विभाग ई. सुरेन्द्रनारायण यादवले सम्हाल्ने भएका छन्। त्यस्तै प्रशिक्षण विभागको नेतृत्व डा. सञ्जयकुमार साहले गर्ने भएका छन्।

दीपक साह र यादव दुवै जनमत पार्टीमा क्रमशः उपाध्यक्ष तथा कोषाध्यक्ष थिए। तर, दुवैलाई अध्यक्ष राउतले कारबाही गर्दै पार्टीबाट निष्कासन गरेका थिए। यही घटनाक्रमपछि उनीहरूले नयाँ राजनीतिक बाटो रोजेका हुन्।
जेनजी आन्दोलनका क्रममा जनमतभित्र असन्तुष्टि अझै बढेको थियो। त्यही क्रममा उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा केही नेताहरूले पार्टी छाडेका थिए। हाल खान भने नयाँ पार्टीमा खुलेर सामेल भएका छैनन्, तर नयाँ पार्टीसँग संवाद भइरहेको बताइन्छ।
‘जनस्वराज’ पार्टीले आफ्ना मूल नारा र दिशानिर्देश पनि सार्वजनिक गरेको छ। पार्टीको दाबी अनुसार उनीहरूले व्यक्तिवाद नभई सामूहिक सहभागिता, राजनीति नभई सेवा, पद नभई जिम्मेवारी र जवाफदेहिता, विभाजन नभई एकता र समानतालाई मार्गदर्शक सिद्धान्त बनाउने घोषणा गरेका छन्।
त्यसका साथै पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचारमुक्त राजनीति, स्थानीय स्वायत्तता, प्रत्यक्ष जनसहभागिता र कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था आफ्नो दीर्घकालीन लक्ष्य भएको पार्टीले स्पष्ट पारेको छ।
नयाँ पार्टीको घोषणा जनमत पार्टीका अध्यक्ष सीके राउतका लागि पेचिलो परिस्थिति बन्दै गएको छ। अघिसम्म आफ्ना निकटस्थ मानिने उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्र यादवले विद्रोह गरी छुट्टै बाटो लिँदा पार्टीभित्रको असन्तुष्टि अझै गहिरिएको देखिन्छ।

राजनीतिक विश्लेषकहरू भन्छन— ‘राउतले आफ्नो पार्टीमा व्यक्तिवाद बढाएको, नेताहरूलाई असहमति राख्ने ठाउँ नदिएको र आन्दोलनमा युवाहरूको भूमिकालाई गौण पारेको कारण पार्टीभित्र विद्रोहको स्वर चर्किएको हो।’
यसरी आफ्नै नजिकका नेताहरूले ‘जनस्वराज’ नामक नयाँ विकल्प अघि सारेपछि मधेसको राजनीतिमा राउतको हैसियत र भविष्यबारे प्रश्न उठ्न थालेको छ। शीर्ष खबरबाट
प्रकाशित मिति: २०२५-०९-२० , समय : २३:३७:१९ , 2 months अगाडि