मधेस प्रदेशको चन्द्रनिगाहपुरमा खुला देहव्यापार : नियमनकारी निकाय समेत मौन
मिति: २०२५-०९-२६ , समय : १५:०२:३० , गामघर डेस्क
मिति: २०२५-०९-२६ , समय : १५:०२:३० , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
काठमाडौं । मधेस प्रदेशको रौतहटको चन्द्रपुर नगरपालिकास्थित टेकान बसपार्क अगाडि लामो समयदेखि खुलेआम रूपमा देहव्यापार चलिरहे पनि प्रहरी प्रशासन मौन रहेको आरोप स्थानीयवासीले लगाएका छन् ।उनीहरूका अनुसार यस घटनाले सामाजिक परिवेश बिगारेकोमात्र होइन, युवापुस्तामा पनि नकारात्मक असर पारिरहेको छ ।
स्थानीयवासीहरूले करिब १०–१५ दिनअघि नै सामूहिक रूपमा प्रहरीसमक्ष उजुरी दिएका थिए, तर अझैसम्म ठोस कारबाही नभएको भन्दै उनीहरू प्रहरी प्रशासन र जनप्रतिनिधिप्रति आक्रोशित छन् । ‘हामीले प्रमाणसहित उजुरी दिएका थियौँ, तर प्रहरीबाट कुनै पहल नभएको देख्दा निराश भएका छौँ,’ एक स्थानीयले भने ।
यो विषय गाउँका केही युवाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । स्थानीयले प्रहरी प्रशासनको ढिलासुस्तीलाई ‘संगठित मिलेमतो’को सङ्केतका रूपमा व्याख्या गरेका छन् ।द युनिटी अफ टेकान क्लबका अध्यक्ष सोम गुरुङका अनुसार सन्तपुरकी एक महिलाले टेकान बसपार्क छेउमा कोठा भाडामा लिएर झन्डै एक दर्जनभन्दा बढी किशोरीलाई राखेर लामो समयदेखि देहव्यापार गराउँदै आएकी छन् । ‘पहिले ती किशोरीलाई होटल–रेस्टुरेन्टमा पठाइन्थ्यो, तर पछिल्लो समय उनले आफ्नै कोठामा पुरुष ग्राहक बोलाएर व्यवसाय गर्दै आएकी छन्,’ अध्यक्ष गुरुङले भने ।
यसप्रकारको विकृतिले सिङ्गो समाजमाथि गम्भीर असर पारिरहेको उनको भनाइ छ । ‘मैले आँट गरेर भिडियो फेसबुकमा राखेँ । त्यसलाई हटाउन दबाब आए पनि हटाएको छैन,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी राजु कार्कीले यस्ता गैरकानुनी गतिविधि रोक्न प्रहरी सक्रिय रहेको दाबी गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।‘उजुरीका आधारमा आवश्यक प्रमाण संकलन र निगरानी भइरहेको छ । छिटै कानुनी कारबाही अघि बढाइनेछ,’ उनले भने ।
स्थानीयवासीहरूका अनुसार संवेदनशील क्षेत्रमा रहेको बसपार्क अगाडि नै यस्ता गैरकानुनी गतिविधि चल्नु प्रशासनिक कमजोरीको स्पष्ट उदाहरण हो । रातोपाटीबाट
प्रकाशित मिति: २०२५-०९-२६ , समय : १५:०२:३० , 2 months अगाडि