झण्डै ३६ बर्षकाे प्रतिक्षापछि सप्तरीको राजविराज बसपार्कबाट सवारी साधन सञ्चालनमा
मिति: २०२५-१०-१२ , समय : ०९:१४:३५ , एस.एन. यादव
मिति: २०२५-१०-१२ , समय : ०९:१४:३५ , एस.एन. यादव
तस्बिर : एस.एन. यादव / गामघर टिभि
एस.एन. यादव
राजविराज । सप्तरीको राजविराज स्थित बसपार्क शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । राजविराज नगरपालिका वडा न.२ स्थित बसपार्क प्राङ्गणमा कावा नगरप्रमुख ईसरत परविनको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरूको बैठकले सो निर्णय गरेको हो ।
बैठकले राजविराज नगरपालिकाको बसपार्क सञ्चालन कार्यविधिअनुसार सम्पूर्ण सार्वजनिक सवारी साधनहरू बसपार्कबाटै सञ्चालन गर्नुपर्ने निर्णय भएको छ । सवारी साधन बसपार्कबाहिरबाट सञ्चालनमा आएमा, कार्यविधिअनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ ।
बैठकमा सहमति अनुसार सवारी साधनहरूको आगमन तथा प्रस्थान (इन र आउट) रुट पनि निर्धारण गरिएको छ । यातायात व्यवसायी विजय गुप्ताका अनुसार सबै सरोकारवालाको सहमतिमा तय गरिएका रुटहरू तत्काल लागू गरिनेछ ।
यसरी बसपार्कमा प्रवेश गर्ने सवारी साधनहरूको रुट यस प्रकार कायम गरिएका छन । 
रूपनीबाट आउने गाडीहरूः मलेठ चौक – नहर – पडरिया – चुरामिल – गुलाब ग्यारेज – राजदेवी हुँदै बसपार्क सम्म,कंचनपुर र फतेपुरबाट आउने गाडीहरूः सिधै गुलाब ग्यारेज हुँदै बसपार्क, हनुमाननगरतर्फबाट आउने गाडीहरूः तेतरीगाछी हुँदै बसपार्क,सिरहा रोड तथा कुनौली सडक खण्डबाट आउने गाडीहरूः तेतरीगाछी हुँदै बसपार्क सम्म हुने छ ।
त्यस्तै बसपार्कबाट बाहिरिने गाडीहरूको रुटमा रूपनी जाने गाडीहरूः गुलाब ग्यारेज – हनुमान मन्दिर हुँदै रूपनी,हुलाकी सडकपूर्वतर्फ जाने गाडीहरूः गुलाब ग्यारेज हुँदै पूर्वतर्फ,हनुमाननगर जाने गाडीहरूः राजदेवी स्कुल – झल्ही नहर हुँदै हनुमाननगर तर्फ,कुनौली तथा सिरहा सडकतर्फ जाने गाडीहरूः तेतरीगाछी हुँदै कुनौली सडकसम्म हुने छ ।
यस्तै सखडा जाने गाडीहरूः अरुण इँटा भट्टा हुँदै सखडासम्म हुने छ ।पश्चिम सिरहा रोडतर्फ जाने गाडीहरूः गुलाब ग्यारेज – हनुमान मन्दिर – मदननगर – खर्साल हुँदै सिरहा रोडसम्म हुने छ ।
राजदेवी चोकमा निर्माण सम्पन्न भई उद्घाटन भइसकेको बसपार्क लामो समयसम्म प्रयोगमा नआउँदा यात्रु तथा व्यवसायीहरू समस्यामा परिरहेका थिए। 
सो बैठकमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कावा नगरप्रमुख ईसरत परविन , प्रहरी उपरीक्षक गौतम कुमार केसी, यातायात व्यवसायी संघका अध्यक्ष दिनेश गुप्ता, व्यवसायी विजय गुप्ता, पत्रकार चन्दनकुमार यादव, सुरक्षा निकाय, जेनसी प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-१०-१२ , समय : ०९:१४:३५ , 2 months अगाडि