पुजारी साहको हत्याका दोषीलाई सार्वजनिक गर्न माग गर्दै दीप प्रज्वलन
मिति: २०२५-१०-२१ , समय : २२:०४:२७ , गामघर डेस्क
मिति: २०२५-१०-२१ , समय : २२:०४:२७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराजस्थित गजेन्द्र चोकमा पुजारी राम दुलार साहको हत्याका दोषीलाई सार्वजनिक गर्न माग गर्दै मंगलबार दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमको अध्यक्षता तेलि कल्याण समाज नेपाल, सप्तरीका जिल्ला अध्यक्ष अमृतलाल साहले गर्नुभएको थियो। कार्यक्रममा केन्द्रीय सल्लाहकार नेत्र विक्रम साह, केन्द्रीय सदस्य तथा महिला अध्यक्ष सुनिता कुमारी साह, साह सेवा सदनका जिल्ला अध्यक्ष योगेन्द्र साह, जिल्ला सदस्य रमानन्द साह, जिल्ला सहसचिव सिंगेश्वर साह, वैश्य संघका जिल्ला अध्यक्ष श्याम साह, जिल्ला सचिव योगेन्द्र प्रसाद साह, जिल्ला महिला अध्यक्ष प्रमिला साह, साथै दिपेन्द्र साह, अनिरुद्ध साह, नेपाली कांग्रेसका युवा नेता घनान्द यादव, तथा नेता इन्द्रदेव र राजु साह लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
वक्ताहरूले आ–आफ्ना मन्तव्य राख्दै पुजारी राम दुलार साहको हत्याको छानबिनमा ढिलाइ भएकोप्रति गम्भीर असन्तुष्टि जनाएका थिए। उनीहरूले हत्यारालाई शीघ्र सार्वजनिक गरी कानुनी कारबाही गर्न माग गर्दै चेतावनी दिएका थिए— “यदि प्रहरी प्रशासन मुखदर्शक बनेर बसिरह्यो भने आगामी दिनमा सबै संघ–संगठन, राजनीतिक दल र आम नागरिक मिलेर संयुक्त दबाबमूलक कार्यक्रम सञ्चालन गरिनेछ।”
कार्यक्रमका सहभागीहरूले दीप प्रज्वलन गरी एक मिनेट मौन धारणसमेत गरेका थिए। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकहरूले जानकारी दिएका छन्।
स्मरण रहाेस, सप्तरीको बोदेबर्साइन नगरपालिका वडा न.८ स्थित रजकपट्टी टोलमा रहेको कबिर बाबा मन्दिरका पुजारी, ७० वर्षीय राम दुलार साहलाई गत शनिवार राति करिब २ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको थियो।
प्रकाशित मिति: २०२५-१०-२१ , समय : २२:०४:२७ , 1 day अगाडि