सप्तरीमा उत्साहपुर्वक मतदाता नामावली दर्ता अभियानमा जनसहभागीता

मिति: २०२५-११-२४ , समय : ०८:०७:३९ , निकेश साह

तस्बिर : निकेश साह / गामघर टिभि

निकेश साह

बरमझिया । सप्तरीमा सञ्चालित राष्ट्रिय परिचयपत्र तथा मतदाता नामावली दर्ता अभियान दुई महिनामा नै अत्यन्त प्रभावकारी भएको छ। असोज १० गतेदेखि सुरु गरिएको अभियानमार्फत जिल्लामा ३० हजार ३ सय ५८ नयाँ नागरिक दर्ता भएका छन्।

अभियानप्रति नागरिकको चासो बढेपछि जिल्लाभर दर्ता केन्द्रहरूमा भीडसँगै आवेदन संख्या तीव्र गतिमा बढेको छ। तथ्यांकअनुसार राष्ट्रिय परिचयपत्रका लागि अनलाइनमार्फत १७ हजार ७ सय जनाले आवेदन दिएका छन् भने कार्यालयमा उपस्थित भई फोटो र बायोमेट्रिक दिएर १२ हजार ६ सय ५८ जनाले दर्ता गराएका छन्।

मतदाता नामावलीमा दुई महिनामा १२ हजार ६५८ दर्ता
असोज र कात्तिक महिनामा गरी जिल्लाभित्रैबाट १२,६५८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

असोज: पुरुष १,२६९, महिला ५९५, जम्मा १,८६४

कात्तिक: पुरुष ५,३८९, महिला ५,४०५, जम्मा १०,७९४

बाहिरी जिल्लाबाट ४९ जनाको दर्ता
सप्तरीमा रोजगारी, व्यावसायिक कार्य वा बसोबासका कारण रहेका अन्य जिल्लाका ४९ जनाले पनि दर्ता गराएका छन्।

असोज: १० जना

कात्तिक: ३९ जना

सहज सेवा प्रवाहमा स्थानीय तहको सक्रियता प्रशंसनीय
स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयको संयुक्त समन्वयमा दर्ता केन्द्रहरू सहज र व्यस्थित बनाइएपछि सेवा लिन आएका नागरिकको चाप व्यवस्थित रूपमा व्यवस्थापन भएको अधिकारीहरूले बताएका छन्।

यस अभियानले राष्ट्रिय परिचयपत्रको पहुँच विस्तारसँगै मतदाता नामावली अद्यावधिकमा समेत महत्वपूर्ण योगदान गरेको छ। दर्ता संख्या उल्लेखनीय रूपमा बढेकाले आगामी निर्वाचनमा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ।

दर्ता अवधि सकिएको सूचना
मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयले प्रदान गरेको विशेष पाँच दिने अवधि सकिएपछि हाल दर्ता प्रक्रिया बन्द गरिएको छ। अत्यधिक भीडका बीच विस्तार गरिएको सो अवधि प्रभावकारी भएको अधिकारीहरूले बताएका छन्।

दर्ता पुनः कहिले खुल्छ भन्नेबारे निर्वाचन आयोगले पछि जानकारी गराउने जनाएको छ।

प्रकाशित मिति: २०२५-११-२४ , समय : ०८:०७:३९ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित