कोशी प्रदेश : दाजुद्वारा भाइको हत्या, आमा गम्भिर घाइते
मिति: २०२५-१२-२१ , समय : २०:५६:३० , गामघर डेस्क
मिति: २०२५-१२-२१ , समय : २०:५६:३० , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
उदयपुर । कोशी प्रदेशको उदयपुरको त्रियुगा नगरपालिका वडा न.२ जोगिदह हाटखोलाचौकमा गएराती दाजुले धारिलो हतियार प्रयोग गरी भाइको हत्या गरेका छन् भने आमा गम्भिर घाइते पारेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी राजन पाचागाईका अनुसार दाजु ४३ बर्षिय युवराज राईले आफ्नै कान्छो भाई ३० वर्षिय धर्मराज राईको हत्या गरेका हुन् । आमा अन्दाजी ५६ वर्षिया रुपमायाको समेत हत्याको प्रयास गरी गम्भीर घाईते बनाएका हुन् ।
अत्याधिक मादकपदार्थ सेवन गर्ने गरेका उनी केही दिनदेखि अस्वभाविक देखिदै आएमा थिए । राती घरमा आमासंग पैसाको कुरामा विवाद गरी एक्कासी मरनासन्न हुनेगरी कुटपिट गरी टाउँकोमा धारिलो हतियारले प्रहार गरेका थिए । पछि आमा उपचारमा गएको मौकाछोपी भाइको हत्या गरेका थिए ।
आमा र दुईछोरा गरी तीनजना मात्र सो घरमा बस्दै आएका थिए । दुई श्रीमती भएपनि संगै बस्न नसकेर बाहिर नै बस्दै आएका थिए । कान्छो भाइ लागू औषधमा फसेर सुधार गृहबाट घर फर्केर बस्दै आएका थिए । शारीरिक र मानसिक रुपमा केही सुस्त अवस्थाका भाइलाई मुला चाना पारे झै धारिलो हतियार प्रहार भएको प्रत्यक्षदर्शीहरुले बताए ।
सो घरमा बेलाबेला झै झगडा भइरहने गरेकाले गाउँलेहरुले त्यति चाँसो नदिएको र मध्येरातको हत्या घटना भएकाले पनि धेरैजसो निदाएकाले थाहा पाएका थिएनन् ।
प्रहरीलाई सुरुमै खबर भएको भएपनि आमा घाइते पारेपछि फरार युवराज लुकेका थिए । खोजतलास गर्दा फेला नपरेपछि प्रहरी र गाउँले फर्केको र आमा उपचारमा अस्पताल गएको मौकामा घरमा बसेका भाइमाथि आक्रमण गरी हत्या भएको थियो ।
घटनापछि स्थानीय स्तब्ध र आतंकित भएको १ नं. वडाध्यक्ष मनोजकुमार चौधरीले बताउनुभयो । घटनास्थल वडा नं. १ र २ को सिमानामा पर्दछ ।
यता हत्या गरि फरार रहेका युवराजको प्रहरिले खोजतलास गरिरहेको छ जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले बताउनुभयो ।
प्रकाशित मिति: २०२५-१२-२१ , समय : २०:५६:३० , 4 hours अगाडि