नयाँ एजेण्डाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी चुनावमा जाने : झा
मिति: २०२५-१२-२२ , समय : १७:५२:३३ , गामघर डेस्क
मिति: २०२५-१२-२२ , समय : १७:५२:३३ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
राजविराज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि नयाँ सोच र नयाँ एजेण्डाका साथ चुनावमा जाने आफ्नो मुख्य चुनावी अवधारणा अघि सारेको छ ।
सोमबार रास्वपा सप्तरीका प्रतिनिधि सभाका लागि आकांक्षी समानुपातिक सांसदहरूले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेताहरूले सो कुरा बताउनु भएका हुन् ।
पत्रकार सम्मेलनमा आकांक्षी समानुपातिक सांसद बरुण झाले पार्टीले नागरिकको सोचदेखि शासन–सत्ताको संरचनासम्म आमूल परिवर्तनलाई राजनीतिक आधार बनाएको बताउनु भयो । उहाँका अनुसार संविधान परिमार्जन, भ्रष्टाचारमा शून्य सहनशीलता र मौलिक हकको प्रभावकारी कार्यान्वयन रास्वपाका प्रमुख चुनावी मुद्दा रहेको दावी गर्नु भयो । उहाँले नयाँ सुधार र सोचदेखि शासन सक्तासम्म प्रतिवेदनमार्फत यस अवधारणालाई पार्टीको चुनावी अभियानको मूल सोचका रूपमा परिभाषित गरिएको बताउनु भयो ।
अर्का आकांक्षी समानुपातिक सांसद आनन्द मिश्राले सप्तरीमा विगतका सांसदहरूले जनतालाई आश्वासनबाहेक केही नदिएको आरोप लगाउँनुहुदै अब जनताको घरदैलोमा पुगेर उहाँहरूको समस्या र विकासका सम्भावनालाई एजेण्डा बनाइने बताउनु भयो ।
उहाँले यस अवधारणाले नागरिकको मानसिकता, कर्मचारीतन्त्रको कार्यशैली र राजनीतिक नेतृत्वको दृष्टिकोणमा परिवर्तन ल्याउँदै शासन प्रणालीमा व्यापक सुधार गर्ने लक्ष्य लिएको बताउनु भयो ।
त्यस्तै डा. अंकिता ठाकुरले परम्परागत राजनीति र यथास्थितिवादलाई तोड्दै नयाँ दृष्टि र दिशासहित घोषणापत्रमार्फत जनतामाझ जाने पार्टीको तयारी रहेको जानकारी दिइन् ।
जिल्ला अध्यक्ष डम्बर नारायण साहले पार्टी स्थापना कालदेखि उठाउँदै आएको अकुत सम्पत्ति छानबिन र ठूला भ्रष्टाचार काण्डमाथि निर्मम कारबाहीलाई प्रमुख चुनावी एजेण्डा बनाइने बताउनु भयो । उहाँका अनुसार वर्तमान तथा पूर्व उच्च पदस्थ राजनीतिक, प्रशासनिक र न्यायिक नेतृत्वको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरिने बताउनु भयो ।
युवा नेता मोहम्मद ईरफान आलमले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीजस्ता संविधान प्रदत्त मौलिक हकहरूको कार्यान्वयनका लागि स्पष्ट कार्य योजनासहित चुनावी अभियानमा जाने रास्वपाको तयारी रहेको बताउनु भयो ।
त्यसैगरी अर्की आकांक्षी समानुपातिक सांसद प्राध्यापक बन्दना मिश्राले आर्थिक तथा सामाजिक असमानतालाई राजनीतिक अस्थिरताको मूल कारण मान्दै यसको अन्त्यका लागि विषयगत विज्ञहरूको टोली बनाएर ठोस योजना तयार गरिने जानकारी दिइन् ।
साे पत्रकार सम्मेलनमा प्रतिनिधि सभाका लागि आकांक्षी समानुपातिक सांसदहरू बरुण झा, आनन्द मिश्र, डा. अंकिता ठाकुर, पुष्पा चौधरी, डम्बर नारायण साह, रिता चौधरी, मोहम्मद ईरफान आलम, बन्दना मिश्र, विष्णु यादवसहित ९ जनाको रहेको पार्टीका युवा नेता खेलानन्द दासले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२५-१२-२२ , समय : १७:५२:३३ , 4 hours अगाडि