अब बसभित्र लुकेर अपराध गर्न पाइँदैन : उपत्यकाका सार्वजनिक सवारी साधनमा सिसी क्यामरा जडान

मिति: २०२६-०१-२२ , समय : २१:५४:१५ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / काठमाडौं

गामघर डेस्क

काठमाडौँ । काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान अभियान सुरु गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सार्वजनिक यातायातलाई सुरक्षित, अनुशासित र प्रविधियुक्त बनाउने उद्देश्यले उक्त अभियान थालिएको हो।
आज आयोजित एक समारोहबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सिसी क्यामरा जडानको औपचारिक शुभारम्भ गर्नुभएको हो। कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले सवारी साधनमा सिसी क्यामरा राख्ने अभियान यातायात व्यवसायीसँगको छलफलपछि सुरु गरिएको जानकारी दिनुभयो।
प्रवक्ता सुवेदीका अनुसार सार्वजनिक सवारी साधनमा हुने दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रण, यात्रुमाथि हुने दुव्र्यवहार तथा चोरीका घटनामा नियन्त्रण गर्ने उद्देश्यले सिसी क्यामरा जडान गर्न थालिएको हो। “यातायात व्यवसायीसँगको छलफलपछि आजदेखि गाडीमा सिसी क्यामरा राख्ने अभियान सुरु गरिएको छ। यसलाई तीव्र गतिमा अघि बढाइनेछ,” उहाँले भन्नुभयो।
उहाँले पछिल्लो समय सार्वजनिक यातायातमा दुर्घटनापछि चालक फरार हुने, बसभित्रै कुटपिट हुने, यात्रुमाथि दुव्र्यवहार तथा चोरीका घटना बढ्दै गएको गुनासो आएपछि क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताउनुभयो। सिसी क्यामरामार्फत बसभित्रका गतिविधि निगरानी हुने र घटनाको वास्तविकता पत्ता लगाउन सहज हुने प्रहरीको भनाइ छ।
सिसी क्यामरासँगै सार्वजनिक सवारी साधनमा ड्यासबोर्ड क्यामरा पनि जडान गर्न थालिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो। ड्यासबोर्ड क्यामराले सवारी साधन बाहिरका गतिविधि तथा सडक अवस्थाको निगरानी गर्ने भएकाले दुर्घटनामा कसको कमजोरी हो भन्ने कुरा पहिचान गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सार्वजनिक यातायातमा सबैभन्दा बढी नागरिकको पहुँच हुने भएकाले यस क्षेत्रलाई प्रविधियुक्त बनाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले सिसी क्यामरा जडानले सार्वजनिक यातायातलाई थप सुरक्षित बनाउने र यात्रुको विश्वास बढाउने विश्वास व्यक्त गर्नुभयो।
ट्राफिक प्रहरीले सिसी क्यामरा जडान अभियान चरणबद्ध रूपमा काठमाडौँ उपत्यकाभर विस्तार गरिने जनाएको छ। साथै, आवश्यक मापदण्ड र कार्यविधि तयार गरी क्यामराको प्रभावकारी प्रयोग गरिने प्रहरीको भनाइ छ। सार्वजनिक यातायातमा सिसी तथा ड्यासबोर्ड क्यामरा जडान सुरु भएपछि यात्रु सुरक्षा, दुर्घटना अनुसन्धान र अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०१-२२ , समय : २१:५४:१५ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित