निर्वाचन विशेष : सप्तरीमा पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह सहित ८९ जना उम्मेदवारको जमानत जफत
निर्वाचन निर्देशिका अनुसार कुल सदर मतको १० प्रतिशत ल्याएको उम्मेदवारको जमानत मात्रै जोगिने व्यवस्था छ ।
मिति: २०२६-०३-१० , समय : ०८:२८:१८ ,
गामघर डेस्क
गामघर डेस्क
सप्तरी ।
सप्तरीमा प्रतिनीधीसभा सदस्य पदका १ सय २ उम्मेदवार मध्ये ८९ जना उम्मेदवारको जमानत जफत भएको छ ।
जिल्लाका चार वटै क्षेत्रका गरी ८९ उम्मेदवारको जमानत जफत भएको छ भने १३ जनाले मात्रै जमानत जोगाउन सफल भएको हो ।
सप्तरी क्षेत्र नं. १ मा रास्वपाकी पुष्पाकुमारी चौधरी, स्वभिमान पार्टीका सुमित साह र एमालेका सुमनराज प्याकुरेल बाहेक सबै १८ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रबाट उम्मेदवार रहेका नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह,जनमत पार्टीका नेता डा. जयकान्त राउत, जसपा नेपालका श्याम सुन्दर सरदार, उज्यालो नेपाल पार्टीका हर्ख नारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सत्यजित कुमार झा, नेपाल जनता पार्टीका दिपेन्द्र प्रसाद यादव, नेपाल जनता संरक्षण पार्टीका खेमराज जैशी, नागरिक उन्मुक्ति पार्टीका टिकालक्ष्मी चौधरी, राष्ट्रिय एकता दलका शम्भु प्रसाद देव, को समेत जमानत जफत भएको छ ।

क्षेत्र नं. २ मा रास्वपाका रामजी यादव, जसपा नेपालका उमेशकुमार यादव र जनमत पार्टीका चन्द्रकान्त(सीके)राउत बाहेक सबै ३१ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रबाट उम्मेदवार रहेका नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, मधेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय निर्माण दलका अफरोज आलम, नेकपा एमालेका मो. जियाउल रहमान तथा नेकपाका सूर्यनाथ प्रसाद यादव, उज्यालो नेपाल पार्टीका डा.दीपक चौधरी , जनअधिकार पार्टीका डा.शरदसिंह यादव , जनता लोकतान्त्रिक पार्टी, नेपालका बलरामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका अनिश अन्सारी, नेपाल जनता पार्टीका रञ्जुकुमारी झा (ठाकुर), नेपाल संघीय समाजवादी पार्टीका राजकुमार मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अजयकुमार दास, नेपाल मजदुर किसान पार्टीकी निलमकुमारी यादव, सार्वभौम नागरिकका दीपककुमार मण्डल, आम जनता पार्टीका सुनिलराज दास, नेपालका लागि नेपाली पार्टीका इन्द्रसागर गुप्ता र श्रम संस्कृत पार्टीका त्रिभुवन खंग, लगायतको पनि जमानत जफत भएको छ ।
यस्तै क्षेत्र नं. ३ मा रास्वपाका अमरकान्त चौधरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका दिनेशकुमार यादव र एमालेका ताराकान्त चौधरी बाहेक सबै १८ जना उम्मेदवारले जमानत जफत भएका छन । नेपाली कम्युनिष्ट पार्टीका अरुणकुमार साह, जनमत पार्टीका सुरेन्द्र शर्मा,उज्यालो नेपाल पार्टीका परमेश्वर प्रसाद साहु, नेपाल मजदुर किसान पार्टीका प्रभु प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्देश्वर प्रसाद साह, राष्ट्रिय मुक्ति पार्टीका गजेन्द्र कुमार मण्डल, आम जनता पार्टीका धनिकलाल चौधरी, बहुजन एकता पार्टी नेपालका महादेव राम, नेपाल जनता पार्टीका सन्तोष कुमार चमन, लगायतको पनि जमानत जफत भएको छ ।
यसैगरि क्षेत्र नं. ४ मा रास्वपाका सिताराम साह, नेपाली काँग्रेसका तेजुलाल चौधरी र जसपा नेपालकी बबीकुमारी सिहं यादव बाहेक सबै २२ जना उम्मेदवार नेकपा (एमाले) का गंगाप्रसाद चौधरी ,नेकपाकी रुबीकुमारी कर्ण, जनमत पार्टीका जितेन्द्र कुमार साह, नेपाल जनता पार्टीका कोशल किशोर दास, उज्यालो नेपाल पार्टीका विसो कुमार यादव, नेपाल मजदुर किसान पार्टीका रामनारायण साह,लगायत को जमानत जफत भएको छ ।
निर्वाचन निर्देशिका अनुसार कुल सदर मतको १० प्रतिशत ल्याएको उम्मेदवारको जमानत मात्रै जोगिने व्यवस्था छ । जिल्लाको चार वटै क्षेत्रमा खसेको मध्ये कुल २ लाख ९१ हजार १ सय ७७ मत सदर भएको थियो । त्यसको १० प्रतिशत मत ल्याउन नसक्दा ८९ जनाले जमानत गुमाएका हुन ।
प्रकाशित मिति: २०२६-०३-१० , समय : ०८:२८:१८ , 4 hours अगाडि