मैथिली साहित्य परिषदको साधारण सभा चाँडै बोलाउन पूर्व अध्यक्षहरुको माग

मिति: २०२६-०४-२८ , समय : २०:०२:२८ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराजस्थित मैथिली साहित्य परिषदका पूर्व अध्यक्षहरुले १८ औ साधारण सभा चाँडै बोलाउन आग्रह गरेका छन् । परिषदका ६ जना पूर्व अध्यक्षले सोमबार सन्युक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
मैथिली भाषा, साहित्य तथा मैथिल कला, संस्कृतिको उन्नयन, संरक्षण र संवद्र्धनको क्षेत्रमा विगत ५६ वर्षदेखि क्रियाशील मैथिली साहित्य परिषदको १७औ साधारण सभा पछि २०८० अषाढ २ गते निर्वाचनद्वारा गठन भएको र २०८० असार २० मा पदभार ग्रहण गरी परिषदको वर्तमान कार्यकारिणी संस्थाको विधानको धारा ६ (घ) अनुसार निर्धारित दुई बर्षको पदावधि समाप्त भएको १० महिना भन्दा बढी बितिसक्दा पनि अहिले सम्म साधारण सभाको घोषणा नभएको विज्ञप्तिमा जनाइएको छ ।
दूई वर्षको कार्यकालमा परिषदद्वारा गरिने नियमित कामहरु जस्तै विद्यापति स्मृति पर्व, अन्तर्राष्ट्रीय मातृभाषा दिवस, साहित्यिक गोष्ठी, जानकी नओमी आदि मनाउने, शिवदत्त मिश्र स्मृति पुरस्कार सहितको अन्य पुरस्कार समेत बितरण गर्न वर्तमान कार्यसमिति असमर्थ रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । त्यस्तै मिथिला साप्ताहिक पत्रिकाको प्रकाशन बन्द गरेको कारणले परिषदको राष्ट्रीय अन्तर्राष्ट्रीय स्तरमा स्थापित रहेको प्रतिष्ठा उपर ठेस पुगेको महसूस गर्दै परिषदका पूर्व अध्यक्षहरु १८ औ साधारण सभा चाँडै बोलाउन परिषदका अध्यक्ष अवधेश कुमार झा र वर्तमान कार्यकारिणीसँग हार्दिक आग्रह गरिएको छ ।
विज्ञप्तिमा पूर्व अध्यक्षहरु प्रा. अमरकान्त झा, विष्णु कुमार मण्डल, देबेन्द्र मिश्र, विवेकानन्द मिश्र, प्रा. अशोक कुमार झा र सतिशकुमार दत्तले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

प्रकाशित मिति: २०२६-०४-२८ , समय : २०:०२:२८ , 2 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित