सप्तरीको भेटेरिनरी कार्यालय भवन ठेक्कामा भ्रष्टाचारको आरोप : तीन कर्मचारीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

मिति: २०२६-०६-१२ , समय : ०८:५२:३६ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा तीन कर्मचारी, एक निर्माण कम्पनी र त्यसका सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा भवन निर्माणका लागि तयार गरिएको ठेक्का प्रक्रियामा मिलेमतो गरी राज्यलाई १ करोड २६ लाख ९६ हजार २६८ रुपैयाँ ७१ पैसा बराबरको नोक्सानी पुर्‍याइएको ठहर गरिएको छ।

मुद्दा दायर गरिएकामध्ये केन्द्रका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झा, हनुमाननगर कंकालिनी नगरपालिकाका इन्जिनियर अशोक कुमार सिंह, असिस्टेन्ट सब–इन्जिनियर प्रेम कुमार सिंह, राधाकृष्ण निर्माण सेवा तथा त्यसकी प्रबन्धक कौशल्या कुमारी रजक रहेका छन्।

अख्तियारको अनुसन्धानअनुसार भवन निर्माणका लागि ४ करोड ४९ लाख ९८ हजार २७२ रुपैयाँको लागत अनुमान तयार गरिएको थियो। तर सार्वजनिक सूचना नै प्रकाशन नगरी सूचना प्रकाशित भएको देखाउने नक्कली पत्रिका प्रति तयार गरी बोलपत्र आह्वान गरिएको पाइएको छ।

बोलपत्र प्रक्रियामा राधाकृष्ण निर्माण सेवा र श्रीराम निर्माण सेवा सहभागी भएकोमा मूल्यांकन समितिले मिलेमतो गरी श्रीराम निर्माण सेवालाई प्राविधिक मूल्यांकनमै अयोग्य घोषणा गरेको आरोप लगाइएको छ। त्यसपछि श्रीराम निर्माण सेवाको आर्थिक प्रस्ताव नखोली राधाकृष्ण निर्माण सेवाको प्रस्ताव स्वीकृत गरिएको अख्तियारले जनाएको छ।

पुनरावलोकन प्रक्रियामा सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रतिनिधिको रोहबरमा खोलिएको आर्थिक प्रस्तावमा श्रीराम निर्माण सेवाले मूल्य अभिवृद्धि करसहित २ करोड ८९ लाख ६४ हजार २४१ रुपैयाँ ३१ पैसा मा काम गर्ने प्रस्ताव गरेको देखिएको थियो। तर राधाकृष्ण निर्माण सेवासँग ४ करोड १६ लाख ६० हजार ५१० रुपैयाँ २ पैसा मा सम्झौता गरिएको थियो।

कम मूल्यमा काम गर्न तयार कम्पनीलाई अयोग्य बनाएर बढी रकममा ठेक्का सम्झौता गरिँदा सार्वजनिक सम्पत्तिमा ठूलो हानिनोक्सानी पुगेको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको हो।

आयोगले डा. झा, अशोक कुमार सिंह र प्रेम कुमार सिंहविरुद्ध जनही १ करोड २६ लाख ९६ हजार २६८ रुपैयाँ ७१ पैसा बिगो कायम गरी कैद र जरिवानाको माग गरेको छ। यस्तै, राधाकृष्ण निर्माण सेवाकी प्रबन्धक कौशल्या कुमारी रजकविरुद्ध पनि सोही बराबरको बिगो, जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ। सप्तरी जागरणबाट

प्रकाशित मिति: २०२६-०६-१२ , समय : ०८:५२:३६ , 17 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित