सुनसरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु , ८ जना प्रदर्शनकारी तथा ८ जना प्रहरी घाइते
मिति: २०२६-०७-२७ , समय : ०६:५९:३५ , गामघर डेेस्क
मिति: २०२६-०७-२७ , समय : ०६:५९:३५ , गामघर डेेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेेस्क
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् ।
सुनसरी प्रहरी प्रवक्त डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुईपक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।
कप्तानगन्जमा गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो । 
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गरेको थियो । हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको थियो ।
झडपमा घाइते भएका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अधिकांशलाई गोली लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ ।
२१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ ।
प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका हुन् ।
प्रहरीका अनुसार दुई समूहबीचको झडपमा कप्तानगन्ज बजारको घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी छ । यता घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: २०२६-०७-२७ , समय : ०६:५९:३५ , 6 hours अगाडि