सुनसरी घटना विशेष : सप्तरीमा सामाजिक सद्भाव कायम राख्न ६ दलको अपील

मिति: २०२६-०७-३१ , समय : २२:००:०७ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

सप्तरी ।
सप्तरीमा क्रियाशिल प्रमुख ६ राजनीतिक दलहरुले सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन् । जिल्लामा क्रियाशिल ६ राजनीतिक दलले शुक्रवार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो अपील गरेका हुन् ।

सामाजिक सदभाव कायम राख्न सबै धर्म समुदायका आम नागरिकसँग हार्दिक अपील गर्दै विज्ञप्तीमा सुरक्षा निकायलाई यस संकटको समयमा परिस्थितिलाई सहज बनाउन गम्भीर भई संयमतापूर्वक शान्ति सुरक्षाको व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।

गोली लागी ज्यान गुमाएका सुनसरीको कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिरहाको गोलबजारका गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली व्यक्ति गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

सुनसरी, सिरहासहितका विभिन्न जिल्लामा घटेको अप्रिय घटनाको छानबिन समिति गठन गरी सत्य तथ्य सार्वजनिक गर्न र दोषी माथी हदैसम्मको कानुनी कार्वाही गर्न, मृतक परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन विज्ञप्ती मार्फत सरकारसँग माग गरिएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, नेकपा एमालेका जिल्ला सचिव देबनाथ यादव, नेकपाका जिल्ला संयोजक प्रतापनारायण चौधरी, जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादव, जनमत पार्टीका जिल्ला अध्यक्ष संजीबनारायण यादव र राष्ट्रिय मुक्ति पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार चौधरीले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।

प्रकाशित मिति: २०२६-०७-३१ , समय : २२:००:०७ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित