गरिब हुनु अपराध : पैसा नहुदा दलित महिलाले सरकारी अस्पतालकाे गेटमै जन्माइन बच्चा
मिति: २०२६-०९-१० , समय : १४:३०:०२ , निकेश शाह
मिति: २०२६-०९-१० , समय : १४:३०:०२ , निकेश शाह
तस्बिर : सामाजिक सन्जालबाट
निकेश शाह
राजविराज । सप्तरीको गजेन्द्र नारायण सिह अस्पताल मध्यरातको २ बजे। चारैतिर निस्तब्ध सन्नाटा थियो। त्यही सन्नाटालाई चिर्दै प्रसव पीडाले छटपटाइरहेकी एक असहाय आमाको कारुणिक चित्कार गुञ्जिरहेको थियो। तर, गरिब र विपन्न हुनुको अपराधमा त्यो चित्कार सुन्ने अस्पतालका बन्द ढोका र त्यहाँभित्रका पत्थर मनहरू पग्लेनन्।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सरकारी अस्पताल— जहाँ गरिब र निमुखा नागरिकहरू बाँच्ने अन्तिम आशा बोकेर पुग्छन्। तर, बुधबार राति त्यही ‘आशाको मन्दिर’ पैसाको अभावमा एउटी आमाका लागि क्रुर र निष्ठुरी बन्यो।
सुत्केरी व्यथाले थलिएर अस्पताल पुगेकी ती विपन्न महिलासँग जब अस्पताल प्रशासनले पैसा माग्यो, तब गरिबीको पीडा प्रसव वेदनाभन्दा पनि भारी भइदियो। रित्तो हात र आँसु मात्र साथमा भएकी ती गर्भवतीले दयाको याचना गरिन्, तर पैसा तिर्न नसकेकै कारण उनलाई उपचार गर्नुको सट्टा अस्पतालबाट निर्दयीपूर्वक बाहिर निकालियो। सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा न.१४ परसाहिका बिनिता पासवानकाे याे व्यथा हाे । 
प्रसव पीडाले शरीर गलिसकेको थियो, पाइला सार्ने शक्ति थिएन। अन्ततः ती बेसहारा महिला अस्पतालको मूल गेटबाहिर, चिसो र धुलाम्य सडकमै लडिन् र त्यही कालो पिचमा छटपटिँदै बच्चा जन्माउन बाध्य भइन्। न त्यहाँ कुनै डाक्टर थिए, न नर्स, न त कुनै सहारा। त्यो रात सडकमा जन्मिएको नवजात शिशुको पहिलो रुवाइले अस्पतालको पर्खाललाई त केही फरक पारेन, तर समग्र मानवता र राज्यको लाचार स्वास्थ्य प्रणालीलाई भने नराम्ररी लज्जित बनाइदियो।
गरिबीकै कारण सडकमा जीवनको भिख माग्नुपर्ने यो कस्तो विडम्बना? सरकारी अस्पतालकै आँगनमा पैसा नभएकै भरमा एउटी आमाले सडकमै सन्तान जन्माउनुपर्ने यो दृश्यले जो-कसैको पनि मुटु चसक्क हुन्छ। 
यो एउटा लापरबाही मात्र होइन, गरिबमाथिको चरम अमानवीय अपराध हो। यस हृदयविदारक घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन हुनैपर्छ। जीवन दिने अस्पतालको दैलोबाट पैसाकै कारण कसैले यसरी लखेटिनु नपरोस्, र कुनै पनि आमाले आफ्नो कोख सडकमा रित्त्याउनु नपरोस्। मानवतालाई नै कलंकित पार्ने यस्तो अमानवीय व्यवहार अब कसैमाथि कहिल्यै दोहोरिनु हुँदैन!
प्रकाशित मिति: २०२६-०९-१० , समय : १४:३०:०२ , 2 hours अगाडि