फलाेअप समाचार : गजेन्द्रनारायण सिंह अस्पतालका ६ कर्मचारी कामकाजबाट हटाइयो
मिति: २०२६-०९-१२ , समय : १८:२२:४७ , गामघर डेस्क
मिति: २०२६-०९-१२ , समय : १८:२२:४७ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
राजविराज । सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा एक महिलाले सडकमै बच्चा जन्माउन बाध्य भएको घटनाको आरोपमा ६ जना कर्मचारीलाई कामकाजबाट हटाएको छ ।
अस्पतालले जारी गरेको पत्रमा अस्पताल परिसरको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको सम्बन्धी भिडियोप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
घटनाको छानबिनका लागि अस्पतालले गठन गरेको छानबिन समितिसहित अन्य समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म उहाँहरूलाई कामकाजबाट हटाइएको पत्रमा उल्लेख छ ।
अस्पतालका डा. उमा देव, स्टाफ नर्स मनिषा कुमारी साह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्ण मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाइएका छन् । 
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रणजित कुमार झाद्वारा जारी पत्रमा समितिको प्रतिवेदनका आधारमा थप आवश्यक व्यवस्था गरिने उल्लेख गरिएको छ ।
अस्पतालमा गत मंगलबार राति प्रसुति गराउन पति हरेराम पासवानसँगै आएकी बबिताले बुधबार बिहान साढे चार बजे सडकमै बच्चा जन्माएकी थिइन् । 
बबिताले अस्पतालको मूल गेटमै बच्चा जन्माउन बाध्य भएको घटनाले अस्पतालको सेवा प्रवाह, कर्मचारीको जिम्मेवारी तथा व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएकोले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कारबाही र अस्पतालको सेवा व्यवस्थापन सुधार गर्नुपर्ने स्थानियबासीले माग गरेका छन ।
प्रकाशित मिति: २०२६-०९-१२ , समय : १८:२२:४७ , 4 hours अगाडि